काठमाडौं– सरकारले चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक तोकेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा बगानमा काम गर्ने श्रमिकको न्यूनतम मासिक तलब १० हजार ७ सय ८१ रुपैयाँ तोकिएको जनाइएको छ।
श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ को प्रावधान बमोजिम श्रम मन्त्रालयले प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको जानकारी दिएको छ। साउन १ गतेदेखि नै लागू हुने गरी ३१ गते नेपाल राजपत्रमा प्रकाशन गरिएको जनाएको छ।
मन्त्रालयले निर्धारण गरेअनुसार आधारभूत तलब ६ हजार ४६९ रुपैयाँ र महँगी भत्ता ४ हजार ३ सय १२ रुपैयाँ रहेको छ। यस्तै, दैनिक ज्याला २ सय ३१ रुपैयाँ र महँगी भत्ता १ सय ५४ गरी ३ सय ५८ रुपैयाँ र प्रतिघण्टाको ३१ रुपैया महँगी भत्ता २० रुपैयाँ गरी ५१ रुपैयाँ निर्धारण गरिएको छ।
श्रम ऐनमा वार्षिक एक लाखको स्वास्थ्य वीमा जसको वीमा शुल्क मजदुर र व्यवस्थापन पक्षले आधाआधा बेहोर्नुपर्ने तथा दुर्घटना वीमाअन्तर्गत सात लाखको वीमामा सबै वीमा शुल्क उद्योगी पक्षले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ।
चिया क्षेत्रमा देखिएका समस्याहरुको दीर्घकालीन रुपमा समाधान तथा यस क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मन्त्रालयको भनाइ छ। देशभर ५० हजार र झापामा मात्र ३० हजार चिया मजदुर रहेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।