काठमाडौं– प्रहरीले मंगलबार काठमाडौंको तीनकुनेमा बाघको ३६ वटा दाह्रासहित ५ युवकलाई पक्राउ गर्यो। उनीहरुले कम्तीमा नौ वटा बाघ मारेको प्रहरी आशंका छ।
एउटा बाघको ४ वटा दाह्रा हुन्छन्। जसअनुसार ९ वटा बाघको चोरी सिकारी भएको हनुसक्ने प्रहरी आशंका छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले ओखलढुंगाका महेश राई, मिलन सुवेदी, बिज्ञान भन्ने प्रतिरोध सुबेदी, सोलुखुम्बुका पूर्णबहादुर तामाङ र मोरङका श्रवण चौधरीलाई पक्राउ गरेको हो। बाघको दाह्रो बच्नखोज्ने क्रममा उनीहरु पक्राउ परेका हुन्।
उनीहरुबाट ३६ वटा दाह्रा तथा ६ वटा नंग्रा बरामद भएको छ।
प्रारम्भिक अनुसन्धानमा ती दाह्रा र नंग्रा बाघकै प्रजातीमा पर्ने चरी बाघ, ध्वाँसे चितुवा र हिउँ चितुवाको भएको प्रहरीले जनाएको छ।
बाघको चोरीशिकारी र कारोबारमा बन्यजन्तुसम्बन्धि अपराधमध्ये सबैभन्दा धेरै सजाय हुन्छ। यसमा १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुन्छ।
पक्राउ परेका व्यक्तिहरुको गिरोहका नाइकेको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि जिल्ला वन कार्यालय काठमाडौंले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।