मनाङ, ( चामे )
ओंगेल गुरुङ, ८०, का आँखामा पुराना दिन उनिए।
पहिला के गर्मी, के जाडो पत्तै हुँदैनथ्यो। १५/२० वर्ष अगाडिसम्मको कुरा हो। गर्मीमा समेत भांग्रा भोटोसँगै चार÷पाँच वटा बाक्ला कपडा लगाउनु पर्दथ्यो। तर, अहिले साधारण ज्याकेटको भरमा पनि जाडो काटिन्छ। पहिला मनाङको धारापानी गाउँदेखि नै हिउँ पथ्र्यो। अहिले यो सर्दै सर्दैमाथि मनाङ पुगिसक्यो।
ओंगेलले भने, ‘पहिले टिलपिल टिलपिल हिउँका दानेदार रेखाले हिमताल मनमोहक देखिन्थ्यो। अहिले बगरमा परिणत भएर उदाङ्गो देखिनछ। चौँरीखर्कभरि सेता हिउँका थुप्रा महिनाै दिनसम्म बिलाउँदैन्थो तर, अहिले हिउँ पर्दापर्दै बिलाएर जान्छ।’
पहिला पहिला एकै व्यक्तिका गोठमा ३-४ सय चौँरी हुन्थे। चौँरीखर्क चौँरीले भरिने गथ्र्यो। अहिले चौँरीखर्क बगर भएका छन्। ओंगेलकै पनि पहिले २०० जति चौँरी थिए। अहिले घटेर ७० वटा मात्र छन्।
ओंगेलले फेरि आफ्ना ओभाना ओठ चलाए, ‘गाउँभरिका सबैले चौँरी पाल्ने गर्थे। खर्कभरि एक हजारभन्दा बढी चौँरी चर्थे। अहिले त त्यस्तो छैन। खकै पनि छैन, चौँरी पनि छैन।’
उनका अनुसार त्यतिबेला चौँरी लिएर मनाङ गाउँका गुम्छाङ, याकखर्क, खाङसारमाथिका हिमाली काख हुँदै तिलिचो आधार शिविर र मुस्ताङ नजीकका खर्कमा पु¥याउँदा बर्खा सकिन्थ्यो। हिउँद लागेपछि विस्तारै विस्तारै तलतिर झर्ने चलन थियो। तर अहिले पुराना दिन किंबदन्ती जस्ता लाग्न थालेका छन्।
मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ। हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन्। उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने चौँरीका लागि चरन क्षेत्र अभाव हुन थालेपछि यस्तो अवस्था आएको स्थानीयवासीको अनुभव छ।
तप्के गुरुङ, ६५, ले विगत ४० वर्षदेखि नै चौँरी पाल्दै आएका छन्। भने, उहलिे, हिमताल गाउँबाटै शुरु हुन्थे तर, अहिले हिमालको टुप्पोमै हिउँ हुँदैन।’ उनका कुर जलवायु परिवर्तनका साक्षी त हुन् नै, यसको प्रभाव चौँरी पालनमा पनि परेको देखियो। वातावरण खल्बलिएर चौँरीपालन पेशा नै धरापमा परेको उनको अनुभव रहेछ।
हिमालको काखमा चौँरी गोठ राखेर आफ्नो आधा जीवन चौँरी गोठमा बिताएका नार गाउँका ६० वर्षीय टसी फुुन्जोको पनि कथाव्यथा पनि उस्तै छ। सानै उमेरदेखि चौँरी गोठमा बसेका फुन्जोसँग नारका सबै खर्कको जानकारी रहेछ। काला लेकदेखि चार हजार ६०० मिटर उचाइमा रहेको हिमताल र फुको क्याङदेखि तिब्बतको सिमानासम्मको खर्कमा बस्दाको लामो अनुभव उनीसँग छ। ‘हिउँमा गडेका चौँरी उतार्नदेखि हिउँ चितुवाबाट घाइते चौँरीको स्याहारसुसारसम्मका काम गरियो’ फिस्स हाँस्दै उनले भने, ‘अहिले पनि मलाई चौँरीले पालेको छ। तर पहिलाको जस्तो होइन।’ अहिले गोठमा बसेर चौँरीको दूध, घ्यू, चिज, छुर्पी, नौनी जस्ता परिकार बनाएर उनले खाँचो टार्दै आइरहेका रहेछन्। अहिले चौँरीको ऊनबाट फेर्पा, दोचा, भोटो, भांग्रा, राडी, पाखी, नाम्लोलगायत घरेलु सामान बनाएर बेच्ने मनाङीको संख्या घट्दै गइरहेको उनले सुनाए।
अग्लाअग्ला हिमालका काखमा रहेका खर्कमा चौँरी राख्ने, जडीबुटी जम्मा गर्ने र हिउँदमा खर्कहरु तल सर्दा जडीबुटी बोकेर झर्ने मनाङवासीको पुरानै चलन हो। लेकमा रहँदाबस्दा जम्मा पारेका जडीबुटी जाडो छल्न बाहिरी जिल्ला विशेष गरी लमजुङ, तनहुँ, कास्की र काठमाडौँ जाँदा बेच्ने वा चामलसँग साट्ने र गर्मी लागेपछि गाउँ फर्कने चलन रहेको मनाङका पुराना चौँरीपालक खम्बा गुरुङले सुनाए। भने, ‘अहिले त खर्क मासिँदै गए, रित्तिदै गए।’
विशेषतः चौँरीखर्क चार हजार मिटरभन्दा माथि रहने हँुदा चौँरीलाई त्यहाँको हावापानी उपयुक्त हुने अर्का चौँरीपालक सुरेश थकालीले बताउँछन्। उच्च हिमाली भेगमा रमाउने यो जङ्गली जनावरलाई स्थानीय बासिन्दाले घरपालुवा जस्तै बनाएकामा उनलाई पटक्कै चित्त बुझेको रहेनछ। ‘चौंरी चराउने चलन पातलिनु राम्रो होइन’ शुरेशले भने।
जलवायु परिवर्तनसँगै बेमौसममा हिमपात हुने र हिमपहिरोले खर्कहरु पुरिने समस्याले गर्दा चौँरी पाल्न असहज भएको स्थानीयवासी खम्बा गुरुङले बताए। आफू दश वर्षको उमेरदेखि चौँरी गोठमा बस्दैआएको र अहिलेसम्म पनि चौँरी गोठमै रमाइरहेको उनको भनाइ छ। चौँरी र खर्कको २० वर्ष लामो अनुभव रहेका उनका अनुसार चौँरी खर्कमा जाँदा आउँदा वरिपरि घोरल, मृग, बँदेल, नाउर जस्ता हिमाली जङ्गली जनावरलाई हिउँचितुवाले लखेटिरहेका हुन्थे। आजभोलि न मृग देखिन्छ, त न हिउँचितुवा। जताततै बगर छन्।
बर्खा याममा चौँरी लिएर खर्कहरु सार्दै तिब्वतको सीमासम्म पुग्थे गोठालाह । जब हिउँद याम शुरु भएर खर्कमा हिमपात हुन थाल्छ खर्क गाउँको वरिपरि सारिन्थे। निस्याङ–३ का याङदुङ गुरुङको पनि उस्तै अनुभव रहेको छ। उनका अनुसार त्यो बेला गोठाला धेरै भएर तीर हान्ने घोडा दौड गरेर रमाइलो गरिन्थ्यो। अहिलेको जस्तो सधँै हिमपात हुँदैनथ्योे। खर्कमा प्रशस्त घाँस पलाउँथे तर, अहिले हिमपहिरोले सबै खर्कहरु पुरिएका छन्। घाँस उम्रन छाडेको छ। हिमपातले कठ्यांग्रिएर चौँरी मर्थे।
वातावरणविद् डा भोला विडुवाका अनुसार बेमौसममा हिमपात हुनु, बढी गर्मीका करण हिउँ पग्लिएर हिमपहिरो जानु, खर्कमा उम्रने घाँस लोप हुँदै जानु र चौँरीमा रोगको सङ्क्रमण देखिनु जलवायु परिवर्तनका संकेत हुन्।
पशु स्वास्थ्य सेवा कार्यालयका अनुसार यस जिल्लामा अहिले तीन हजार २७२ याक र चौँरी रहेका छन्। यहाँका १५ वटा चौँरी फार्म घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन्। त्यस्तै, बिना दर्ताका १५ वटा जाति चौँरी फार्म रहेको बताइन्छ। ‘दिनानुदिन चौँरीको संख्या घट्नुका प्रमुख कारण खर्ककै अभाव हो’ वरिष्ठ पशु विकास अधिकृत डा सूर्यप्रसाद पौडेलले बताए। चरनको अभाव भएर चौँरीमा कुपोषण, निमोनियजस्ता रोग देखा पर्न थालेको अनुभव पनि सुनाए डा पौडेलले।
मनाङमा पातलिँदै गएको चौँरी पालनको चलनलाई विगतमा जस्तै ब्युझिँएको बनाउन पहल पनि नभएका होइन। यसबारे बहस र विमर्श पनि भइरहेका छन्। थकालीका अनुसार गाउँ क्षेत्रका खाली पाटनमा चौँरीखर्क बनाउन सकिन्छ। दानाको व्यवस्था गरेर घरमै गाईवस्तुझैँ चौंरी पाल्न सकिने उनको भनाइ छ। जिल्ला वन कार्यालय मनाङका अनुसार ष्यहाँ कसैको पनि निजी खर्क छैन । सबैले सामुदायिक खर्कमा चौँरी राख्ने गरेका छन्।
सामुदायिक खर्कले ३७ हजार ७६० हेक्टर जमीन ओगटेको अनुमान छ। पछिल्लो समय हिमपहिरोको कारण अधिकांश खर्क बगर बनेका छन्। प्रतिकूल परिस्थितिमा पनि कतिय मनाङवासीमा चौँरी मोह घटेको छैन। उनीहरु वैकल्पिक चौँरीखर्कको आशामा छन्। चौँरीखर्क वरिपरि तारजाली र सोलार प्लेट राखिदिए हिमपहिरो र जङ्गली जनावरबाट धेरै हदसम्म सुरक्षा मिल्ने उनीहरुको विश्वास छ।
‘आधुनिक तरिकाले भए पनि हामी चौंरी पाल्न चाहन्छौं, चौरी हाम्रो परम्परा हो’ मनाङको मुख्य पेशा नै चौँरीपालन भएकाले यस पेशालाई निरन्तरता दिनुपर्ने तर्क गर्दै चौँरीपालक कान्छा गुरुङ भन्छन्, ‘हामीलाई चौंरी चर्ने खर्क चाहियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।