काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको भन्दै पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको कानुन भएको बताए। अस्पतालमा उपचार गर्दा बिरामीको मृत्यु भएमा चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम फिँजाउने काम नगर्न पनि उनले आग्रह गरे।
प्रधानमन्त्री ओलीले नयाँ कानुन आउँदा केही केही व्यवस्था नयाँ हुने हुँदा अभ्यासमा केही समय लाग्ने बताउँदै जनतालाई नकारात्मक असर पर्ने खालको कुनै पनि व्यवस्था संहितामा नभएको स्पष्ट पारे।
'सरकार अल्मलिएको छैन, देश अल्मलिएको छैन, जनता र युवाशक्ति अल्मलिएका छैनन्,' उनले भने, 'अल्मलियो कि भन्ने पिर प्रतिपक्षलाई लागेको छ, तर सरकारले राष्ट्र र जनताको हितका लागि निरन्तर काम गरेको छ।'
पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले नवप्रवेशीबाट पार्टीलाई नयाँ उचाइमा पुर्याउन थप बल पुग्ने उल्लेख गरे। 'उड्दाखेरि मौरीका साथ लागेर उड्यो भने फूलको थुँगामा पुगिन्छ, झिँगाको साथमा लागेर उडियो भने फोहोर डुङ्गुरमा पुगिन्छ, तपाईंहरु उडान भर्नका लागि मौरीको साथमा लाग्नुभएको छ, फूलकै थुङ्गामा पुगिन्छ,' उनले भने।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले समेत पार्टीमा टिक्न नसकेको उदाहरण दिँदै नवप्रवेशी कार्यकर्ताले नेकपामा प्रवेश गरेर सही निर्णय लिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।