काठमाडौं– २ सय भन्दा धेरै नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रवेश गरेका छन्। बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले उनीहरुलाई पार्टीमा स्वागत गरे।
पार्टी प्रवेश गर्नेमा ओखलढुंगाका नेता रामकुमार खत्री लगायत छन्। खत्री कांग्रेसमा आबद्ध थिए। उनी पूर्व जिविस सदस्य हुन्।
काठमाडौंबाट डेढ सय जना विभिन्न पार्टी त्यागेर नेपकामा प्रबेश गरेका छन्।
ओखलढुंगाबाट कांग्रेसका जिल्ला कमिटी सदस्य सुरेस सुनुवार, खिजीकाती गाउँकमिटीका सभापति तथा कांग्रेसबाट निर्वाचित पूर्व गाविस अध्यक्षहरु रेवतकुमार सुनुवार, लालप्रसाद नेपाल, गाउँपार्टी सभापतिहरु गजेन्द्रबहादुर बस्नेत, पूर्व गाउँ सभापति चकेन्द्र दास सुनुवार, उपाध्यक्षहरु होमबहादुर सुनुवार, अमर बहादुर खत्री सचिवहरु केसर कुमार सुनुवार, चुडाप्रसाद पौडेल, कोषाध्यक्ष मन्जुकुमारी बिक, नेपाली कांग्रेस श्रमिक संघ जिल्ला अध्यक्ष ताराधन सुनुवारसहित ६६ जना नेकपा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले ‘मौरीका साथ उड्दा फूलमा पुगिन्छ, झिंगाको साथमा उड्दा फोहोरमा पुगिन्छ’ भन्दै नेकपामा प्रबेश गरेकाहरुलाई स्वागत गरेका थिए।
तत्कालिन एमालेको सूर्य चुनाव चिन्ह लिएर सांसदमा विजयी भएका हृदयेश त्रिपाठी, वृजेश गुप्ता लगायत पनि पार्टी प्रबेश गर्ने बताइएपछि उनीहरुको पार्टी प्रबेश धकेलिएको छ।
पार्टी प्रबेशका लागि केही कुरा मिल्न बाँकी रहेको सांसद त्रिपाठीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।