नयाँदिल्ली- भारतको आम आद्मी पार्टीका एक जना वरिष्ठ नेता आशुतोषले पार्टीका सबै पदबाट राजीनामा दिएका छन्।
छोटो समयमा निकै लोकप्रिय बनेको पार्टीका ती नेताले पार्टीअन्तर्गत आफूले पाएका सबै जिम्मेबारीबाट बुधबार राजीनामा दिएका हुन्।
'हरेक यात्रा कहीँ न कहीँ गएर टुङ्गिन्छ, आम आद्मी पार्टीसँगको मेरो यात्रा पनि यहीँ आएर टुङ्गिएको छ,' उनले भनेका छन्। पार्टीमा रहेका बेलाको आफ्नो यात्रा राम्रो र प्रगतिशील भएको बताउँदै उनले आफ्नो सो अवधि स्मरणीय रहने उल्लेख गरे।
आफूले पार्टी परित्याग गर्नुको कारण विशुद्ध व्यक्तिगत भएको पनि उनले पटक पटक दाबी गरेको समाचारमा जनाइएको छ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले पार्टीभित्रको यात्राका क्रममा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन्।
नेता आशुतोष आम आद्मी पार्टीका सीमित संस्थापक नेतामध्ये एक हुन्। उनले लामो समय पार्टीको प्रवक्ताका रुपमा समेत काम गरेका थिए।
पार्टीमा आवद्ध हुनुभन्दा अगाडि भ्रष्टाचारविरोधी अभियानमा उनी सक्रिय थिए। नेता आशुतोषले लामो समय टेलिभिजन पत्रकारिता पनि गरेका थिए।
आम आद्मी पार्टीले अहिले भारतको दिल्ली राज्य सरकारको नेतृत्व गरेको छ। पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नेता आशुतोषको राजीनामा स्वीकृत पनि गरिसकेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।