काठमाडौं- सरकारी कार्यालयको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालयले बेरुजु राख्ने सरकारी कार्यालयका कार्यालय प्रमुखको नाम सार्वजनिक गरेको छ।
महालेखाले आर्थिक वर्ष (आव) २०७३/७४ मा विभिन्न सरकारी कार्यालयमा रहेको बेरुजु र उक्त अवधिमा कायम रहेका कार्यालय प्रमुखको नाम सार्वजनिक गरेको हो। महालेखाले पहिलो पटक बेरुजु राख्ने कार्यालय प्रमुखहरुको नाम सार्वजनिक गरेको हो।
महालेखाले आफ्नो ५५ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको ५० सरकारी कार्यालयमध्ये महालेखा कार्यालयबाहेक सबै निकायमा बेरुजु देखिएको छ।
महालेखाको वार्षिक प्रतिवेदन अनुसार आव ०७३/७४ मा सबैभन्दा धेरै बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा छ। उक्त आवमा मन्त्रालयका नाममा २१ अर्ब रुपैयाँ बेरुजु छ। उक्त आवमा उक्त मन्त्रालयमा सचिवमा धनबहादुर तामाङ (यसअघि नै अवकाश पाइसकेका) र देवेन्द्र कार्की थिए। तामाङ १ साउन ०७३ देखि ९ असार ०७४ सम्म कार्यरत् थिए भने बाँकी अवधिमा कार्की कार्यरत थिए।
यसैगरी उक्त आवमा महालेखाले अर्थ मन्त्रालयका नाममा १६ अर्ब रुपैयाँ बेरुजु कायम गरेको छ। उक्त आवमा मन्त्रालयको सचिवमा हालका मुख्य सचिव लोकदर्शन रेग्मी र शान्तराज सुवेदी (हाल अवकाश) थिए। रेग्मी १ साउन ०७३ देखि १७ भदौसम्म र बाँकी अवधिमा सुवेदी मन्त्रालयको सचिव कायम थिए।
संघीय मामिला मन्त्रालयको बेरुजु उक्त आवमा ११ अर्ब रुपैयाँ कायम भएको छ । सो अवधिमा मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारी र दिनेश थपलिया कायम थिए। अधिकारी १ साउन ०७३ देखि १३ बैसाख ०७४ सम्म र थपलिया त्यसयता मन्त्रालयको सचिव कायम छन्।
आव ०७३/७४ मा बजेटको अख्तियारीप्राप्त कार्यालय प्रमुख र उक्त अवधिको बेरुजु :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।