काठमाडौं- प्रतिनिधिसभाका संसदले वैदेशिक रोजगारी क्षेत्रका विकृति र समस्याका विषयमा चासो देखाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको उद्योग वाणिज्य श्रम उपभोक्ता संसदीय समितिको बैठकमा बोल्ने अधिकांश संसदले वैदेशिक रोजगारीमा गएका युवा विदेशमा अलपत्र पर्ने, रोजगारीका नाममा हुने तस्करी, रोजगारीका लागि विभिन्न देश पुगेका कामदारको (मृत्यु, जेल र कोमा) र स्वास्थ्य लगायतका समस्या प्रति संसदले चासो देखाएका हुन्।
सरकारले तीन वर्षअघि विदेशिने कामदारका हकमा लागू गरेको फ्रि भिसा र फ्रि टिकट कार्यान्वयन गर्न संसदले माग गरेका छन्। विदेशमा कार्यरत कामदारको कमाइबाट भित्रिएको रेमिट्यान्स लगानी गर्ने वातावारण सरकार नबाइदिँदा विप्रेषण अनावश्यक क्षेत्रमा खर्च भइरहेको सांसदको आरोप छ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा फ्रि भिसा र फ्रि टिकट लागू गरेपनि युवाले चर्को रकम तिरेर विदेशिने बाध्य भइरहेको समितिका सदस्य देवेन्द्र पौडेलले बताए। वैदेशिक रोजगारीमा जाने कामदारका समस्या समाधान गर्ने सरकार कठोर रुपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ छ। 'वैदेशिक रोजगारीमा जाने कामदारलाई मेनपावर व्यवसायीले राज्यकै अगाडी प्रत्यक्ष ठगिरहेका छन्। यस्ता विकृति रोक्न सरकारले ध्यान दिएको छैन। जसका कारण रोजगारीको खोजीमा रहेका कामदार मारमा परिरहेका छन्,’ उनले भने।
वैदेशिक रोजगारीका नाममा दैनिक ठूलो संख्यामा महिला तथा युवा तेस्रो मुलुक तस्करी भइरहेको समितिकी सदस्य वृन्दा पाण्डेले बताइन्। यो विषयमा सरकारले चासो दिएर यस्तो प्रवृत्ति रोक्नुपर्ने उनको भनाइ थियो।
यस्तै, सरकारले बाध्यताकारी वैदेशिक रोजगारको अन्त्य गर्ने योजनाअघि यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा गर्न ध्यान नदिएको समितिकी सदस्य जयपुरी घर्तीमगरले बताइन्।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई आन्तरिक श्रम बजारमा पुन व्यवस्थापन गर्ने पहल गर्नुपर्ने समितिकी सदस्य सरिता कुमारी गिरीले धारणा राखिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।