काठमाडौं– दुई सातापछि नेपालमा हुन गइरहेको बिमस्केट सम्मेलनमा आउने पाहुनालाई सरकारले होटल सोल्टीमा राख्ने भएको छ। उनीहरुलाई गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टमा ‘रिट्रिट’ दिने सरकारको तयारी छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रप्रमुखहरुलाई होटल सोल्टीमा राख्ने निश्चित भइसकेको छ। यद्यपी औपचारिक निर्णय भने भइसकेको छैन।
त्यस्तै रिट्रिटका लागि गोकर्ण रिसोर्टलाई पहिलो प्राथमिकतामा राखिएको छ।
सार्क सम्मेलनमा धुलिखेलमा रिट्रिट दिइएको थियो। यसपटक पनि धुलिखेलमा राम्रो नहुने भन्दै गोकर्णका लागि उपयुक्त ठानिएको छ। केहीले चन्द्रागिरीलाई रोजे पनि उच्चस्थानमा रहेकाले त्यसले असर गर्न सक्ने भन्दै गोकर्णमै लैजान लागिएको छ।
तर, गोकर्णमा रिट्रिट दिन सडकको भने समस्या छ। चुच्चेपाटीदेखिको सडकखण्डमा खाल्डैखाल्डा भएकाले धमाधम खाल्डो पुर्ने काम भइरहेको छ। केही दिनयता भौतीक योजना तथा यातयात मन्त्री रघुबीर महासेठ सडक निरीक्षणमा गएर साउन १० गतेभित्र सबै खाल्डो पुर्न निर्देशन दिएका थिए। स्रोतका अनुसार बिमस्टेक सम्मेलनलाई नै लक्षित गरि उनी निरीक्षणमा गएका हुन्।
सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, बर्माका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन्।
उनीहरुमध्ये भारतीय प्रधानमन्त्री मोदी र थाइल्याण्डका प्रधानमन्त्री चान–ओचा चार्टड विमानबाट नेपाल आउँदै छन्। अरु नियमित उडानबाटै आउने छन्।
म्यानमार र श्रीलंकाको भ्रमण द्विपक्षीय हुने
सम्मेलन आउन लागेका श्रीलंकाका राष्ट्रपति सिरिसेना र म्यानमारका राष्ट्रपति माइन्टको भ्रमण द्धिवपक्षीय समेत हुने छन्। उनीहरुले भ्रमणलाई द्विपक्षीय बनाउन चाहेका छन्। ‘सम्मेलन अघि कि पछि द्विपक्षीय भेटघाट भन्ने अझै तय भइसकेको छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।
लामो समयदेखि द्विपक्षीय भेटवार्ता नभएकाले यही अवसरमा भेटवार्ता गर्न चाहेका हुन्।
लुम्बिनी भ्रमणमा जाने
सम्मेलनमा आउने तीन देशका अतिथिहरु लुम्बिनी भ्रमणमा जाने भएका छन्। श्रीलंका र थाइल्याण्डका प्रधानमन्त्री तथा म्यानमारका राष्ट्रपति लुम्बिनी भ्रमणमा जान लागेका हुन्। त्यसका लागि लुम्बिनीमा तयारी सुरु भइसकेको छ।
तयारी अन्तिम चरणमा
सम्मेलनको मूल तयारी समितिको बैठक मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको थियो।
बैठकमा सम्मेलनका नारा, घोषणपत्र तथा नेपालका एजेन्डाहरुबारे छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। हालसम्म बिमस्टेकको घोषणापत्र बनेको छैन। जसकारण नेपालमा हुने सम्मेलनबाट घोषणापत्र जारी गरी ऐतिहासिक बनाउन लागिएको छ। साथै विभिन्न आर्थिक सहकार्यका विषयमा गहन छलफल समेत सम्मेलनमा हुने छ।
प्राविधिक तयारीहरु पनि धमाधम भइरहेको ज्ञवालीको भनाई छ। पाहुनाका लागि लागि यसपटक नेपालमा गाडीको प्रबन्ध गर्न लागिएको छ। सार्क सम्मेलनमा भारतबाट बुलेटब्रुफ गाडीहरु ल्याइएको थियो। मिडिया लगायत टोलीलाई भाडामा गाडी लिने तयारी भइरहेको छ।
बिमस्टेकको सुरक्षाका लागि पनि दैनिकजसो गृहमा छलफल भइरहेको छ। सम्मेलनको सुरक्षामा नेपाली सेनालाई समेत भूमिका दिन लागिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।