काठमडौं– वैदेशिक रोजगारमा अफगानिस्तान लगायतका मुलुकमा पठाउने भनेर ८ करोड रुपैयाँ भन्दा धेरै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका झापा दुर्गापुर–१ घैलाडुब्बाका ३७ वर्षीय सोमनाथ निरौला पक्राउ परेका हुन्।
उनी चीनबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन्।
उनलाई ४ वर्ष कैद र ४ लाख रुपैयाँ कैद सजायकाे फैसला भइसकेको छ।
उनीसहितका व्यक्तिहरुले प्रति व्यक्ति ३ लाख ५० हजार रुपैयाँका दरले ८ करोड रुपैयाँ ठगी गरेका थिए।
निरौलालाई नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले वारेन्ट जारी गरेको थियो।
उनी भारतबाट चीन गएको र चीनबाट नेपाल आउने क्रममा पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
निरौला पहिला माछापोखरीमा कन्चाई मनी ट्रान्सफर खोलेर त्यसकै आवरणमा ठगी गरेका थिए। उनको परिवार नै मिलेर सयौं युवाहरुलाई ठगी गरेको थियो।
२०६९ सालमै उनका बहिनीज्वाई नेत्रप्रसाद घिमिरेलाई पक्राउ गरेको थियो। त्यसयता निरौला फरार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।