काठमाडौं– रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै नेपाली युवालाई ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका छन्।
टुरिष्ट भिसामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले कामदार भिसामा पोल्याण्ड पठाउने भन्दै ठगी गरेको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
उनीहरुको विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै सूचना आएपछि विभाग अनुगमन टोली छापा मारेर केही कागजात बरामद गरेको छ।
पुतलीसडकस्थित शंकरदेव क्याम्पसअगाडि अफिस नै खोली उनीहरुले ठगी धन्दा चलाइरहेको विभागको भनाइ छ।
पिपल फर वर्क नामको कम्पनी नै दर्ता गरी काम गरिरहेको पाइयो। पक्राउ परेका नागरिक फेसवुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गरी युवा ठगीमा संग्लन भएको विभागको भनाइ छ।
सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका व्यक्तिलाई पोल्याण्ड रोजगारीमा पठाइदिने भन्दै सुरुमै २ लाख उठाउने गरेको थिए। अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाखसम्म खर्च लाग्ने बताउँदै ठगी गर्ने गरेको पाइएको थियो।
पक्राउसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरी थप अनुसन्धान सुरु गरेकोे विभागले जानकारी गराएका छन्।
उनीहरुले कम्पनी रजिष्टारमा दर्ता गर्दा सफ्टवेयर तथा सूचना प्रविधिमा काम गर्ने उद्देश्य राखेको भेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।