काठमाडौं- सरकारले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दोस्रो पटक सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले करिब डेढ वर्षअघि बर्खास्तीमा परेका ज्ञवालीलाई पुनः प्राधिकरणको नेतृत्व सुम्पेको हो।
सरकारले गत २२ असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै यसअघि सिइओ कायम रहेका युवराज भुसाल पदमुक्त भएका थिए।
त्यसयता प्राधिकरणको नेतृत्व खाली थियो।
ज्ञवाली १० पुस २०७२ सालमा प्राधिकरणको सिइओ नियुक्त भएका थिए। त्यसको एक वर्षपछि २७ पुसमा उनलाई तत्कालीन सरकारले बर्खास्त गरेको थियो।
आफू बर्खास्तीमा परेपछि अदालत गएका उनको मुद्दा अझै विचाराधीन छ।
मंगलबारको निर्णयसँगै ज्ञवाली प्राधिकरणको पाँचौं सिइओ बनेका छन्। व्यक्तिका हिसाबले भने उनी तेस्रो मात्र हुन्।
को हुन् सिइओ ज्ञवाली?
यसअघि प्राधिकरणको सिइओ हुनुअघि ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक थिए। कार्यकाल डेढ वर्ष बाँकी रहँदै उनलाई सरकारले प्राधिकरणको सिइओ नियुक्त गरेको थियो। ज्ञवालीसँग तत्कालीन स्थानीय निकायमा लामो समय काम गरेको अनुभवसमेत छ। उनी तत्कालिन नेकपा एमाले (हाल नेकपा) निकट मानिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।