काठमाडौं- स्वेच्छिक अवकाशको प्रलोभन देखाएर आफूहरुलाई सेवा सुविधाबाट वञ्चित गर्दै हटाइएको भन्दै कर्मचारीहरु पुनर्बहालीको माग गर्दै साझा प्रकाशनको कार्यालयमा धर्ना बसेका छन्।
२०७३ सालमा स्वेच्छिक अवकाशको नाममा साझा प्रकाशनबाट हटाइएका ती कर्मचारीले महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सहमति अनुसार समयभित्रै उपदान नदिएकाले पुनर्बहालको माग गरिएको बताएका छन्।
सेवा बापतको सुविधा नदिई महाप्रबन्धक र साझा प्रशासनले आफूहरुलाई झुक्याएर हटाएको दाबी उनीहरुको छ। पूर्व कर्मचारी आन्दोलन समितिका संयोजक धीरेन्द्रराज खनालले महाप्रबन्धक शर्माले २०७५ असार मसान्तसम्ममा उपदानको रकम उपलब्ध गराउने र नसके पुनर्बहाली गर्ने लिखित प्रतिबद्धता गरेको दाबी गरे। दुई वर्ष भइसक्दा पनि कर्मचारीको हितमा कुनै निर्णय नभएकाले आफूहरु आन्दोलित भएको उनले बताए।
पूर्वकर्मचारी प्रेमबहादुर कार्कीले पनि आफूहरुलाई सेवा सुविधावाट वञ्चित गराएकाले आन्दोलनमा उत्रिएको बताएका छन्।
महाप्रबन्धक संस्था र कर्मचारीको हितमा भन्दा निजी स्वार्थमा केन्द्रित भएकाले समस्या सिर्जना भएको पूर्वकर्मचारी तारा चालिसेको भनाइ छ।
एक महिनासम्म धर्ना बस्दा पनि समस्या सम्बोधन नभएकाले भोलिदेखि कडा आन्दोलन गर्ने कर्मचारीले चेतावनी दिएका छन्।
कर्मचारीहरु असार ३२ गतेदेखि दैनिक कार्यालय समयमा साझा प्रकाशन परिसरमा धर्ना बस्दै आएका छन्।
साझा प्रकाशनका अधिकृत स्तरका २२ जना, सहायक स्तरका ६९ गरी १२८ जना कर्मचारीले स्वेच्छिक अवकाश पाएका थिए। प्रकाशनले अवकाशप्राप्त कर्मचारीहरुको उपदानबापत १७ करोड बराबर रकम दिन बाँकी छ। उपदान लगायत सेवा सुविधाको माग गर्दे कर्मचारी तेस्रो पटक आन्दोलनमा उत्रिएका हुन्।
भ्रष्टाचार र अनियमितता आरोप लागेका महाप्रबन्धक शर्मा २०७४ असोज ८ गते बर्खास्त भएका थिए। त्यसपछि सर्वोच्च अदालत पुगेका उनी अदालतको आदेशमा पुनर्बहाली भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।