नुवाकोट- नुवाकोटको विदुर नगरपालिका वडा नं ९ लामाटारको देउरालीमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
बुङताङबाट अन्दाजी ५५ जना यात्रु बोकी त्रिशूलीतर्फ आउँदै गरेको पासाङ ल्हामु यातयातको बा २ ख २८०४ नं को यात्रुबहाक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ। बस सडकदेखि ४० मिटर तल खसी दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले बताए।
दुर्घटनामा गम्भीर घाइते हुनेमा नुवाकोट देउरालीका ६० वर्षीय प्रेमसिङ तामाङ, ६१ वर्षकी चोकनी तामाङ, ५९ वर्षीय ज्ञानबहादुर तामाङ र ३ वर्षका इसायन रहेको प्रहरी प्रमुख कुँवरले बताए।
सामान्य घाइते हुनेहरुमा टीकामाया तामाङ, रिजम तामाङ, होमबहादुर तामाङ, रीता तामाङ र लेसाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। अन्य घाइतेहरुको भने नामथर खुल्न सकेको छैन।
सामान्य घाइतेहरुको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई काठमाडौं लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।