काठमाडौं- भारतले नेपालका विभिन्न सामाजिक संघसंस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ।
भारतको ७२औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको हो। बुधबार लैनचौरस्थित दूतावासमा आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका विभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरे।
समारोहमा भारतीय सेनामा गई वीरगति प्राप्त गरेका तथा अपांग भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो।
भारतले भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर यसअघि नै विभिन्न सामाजिक संघ, संस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १ सय ३६ वटा बस उपलब्ध गराइसकेको छ। समारोहमा भारतीय राजदूत पुरीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशबासीको नाममा दिएको सन्देश पढेर सुनाउनुभएको थियो। सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षयताका उपलब्धिहरुको चर्चा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।