काठमाडौं– कतार सरकारले नेपालमै श्रम कार्यालय खोलेर सरकारी स्तरबाट वार्षिक १ लाख श्रमिक आपूर्ति गर्ने भएको छ।
यो विषयमा कतारका सरकारी प्रतिनिधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारबीच छलफल भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ।
कतारसँग कामदार आपूर्तिका लागि यसअघि नै श्रम सम्झौता भएको छ। तर, उक्त श्रम सम्झौता पुनः परिर्माजन गरेर सरकारी स्तरबाट कामदार पठाउने पक्षमा नेपाल सरकार रहेको श्रम मन्त्रालयको भनाइ छ।
कतार सरकारले नेपालबाट सरकारी स्तरमा ‘बायोमेट्रिकल एग्रिमेन्ट’ गरेर कामदार लिन इच्छा देखाइरहेको श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए। कतारले सरकारी स्तरबाट कामदार आपूर्ति गर्न नेपालमा तालिम केन्द्र र श्रम कार्यालय खोल्न छलफलमा चासो देखाउने गरेको उनको भनाइ छ।
कतारमा वार्षिक एक लाख कामदार आपूर्ति गर्ने खाका र संरचना निर्माणको काम भइरहेको सचिव दाहालको भनाइ छ।
नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टबीच निरन्तर छलफल भइरहेको पनि श्रम मन्त्रालयले जनाएको छ।
नेपालले कतार जाने श्रमिकको सुरक्षा, २४ घन्टे विमा र तलब सुविधाका विषयमा अध्ययन गरेर यो विषयमा निर्णय लिने कतार सरकारलाई प्रष्ट्याएको छ।
कतारमा मेनपावर कम्पनीमार्फत वर्षेनी १ लाखभन्दा धेरै नेपाली रोजगारीमा जाने गरेका छन्। जसका लागि १ सय २० भन्दा बढी मेनपावर कम्पनी सक्रिय रहेको बताइन्छ। कतारमा हाल ५ लाखभन्दा बढी नेपाली रोजगारीका लागि पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।