डडेलधुरा– प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील मानिएको जिल्ला डडेलधुरा भएर बग्ने महाकाली, रंगुन नदी, पुन्तुरा खोला र सादनी खोला, जहाँ खोलाले बगाएको घटना सामान्यजस्तै बनेको छ। वर्षायाममा नदी वारपार गर्ने कतिपय स्थानीयहरु बाढीको सिकारसमेत हुने गरेका छन्।
रंगुन नदीमा पुल निर्माणाधीन अवस्थामा रहेकाले यहाँ पुलबाट वारपार गर्न अझै केही वर्ष लाग्ने स्थानीयको अनुमान छ। सुस्त गतिमा निर्माण भइरहेकोले पुलबाट छिट्टै सहज यात्रा गर्न पाइएला भन्ने परशुराम नगरपालिका–६ करालीका स्थानीय भुपेन्द्र धामीलाई लागेको छैन। ‘यस्तै अवस्थामा कसरी सजिलोसँग खोला तर्न पाइएला भनेर सोच्ने?,’ धामीले प्रश्न गरे, ‘बाढीको भंगालोमा हामीले कतिन्जेल ज्यान फाल्नुपर्ने हो?’
स्थानीयहरु बैंकिङ कारोबार, व्यापार, अस्पताल, नागरिकता बनाउनसमेत नदी तरेर जोगबुढा आउने गरेको धामीले बताए। महाकाली, रंगुन, सादनी र पुन्तुरा खोलामा पुल नहुँदा वर्षातको समयमा स्थानीयहरुले अनाहकमा ज्यान गुमाउने गरेको उनको भनाइ छ।
आफ्नो दैनिक तथा सरकारी कामकाज, विद्यालय जान, बजारमा किनमेल गर्नको लागि जोखिम मोलेर रंगुन नदी तर्नुपर्ने यहाँका स्थानीयलाई बाध्यता छ। त्यहाँका बृद्धहरु पनि सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि ज्यानको बाजी लगाएरै ट्युवबाट जोगबुढा बजार आउँछन्।
नगरपालिकाको परिगाउँ, रज्यौडा, सिमल्टा, कटाल, शिर्ष, सादनी, करालीलगायतका स्थानीयबासीले ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता छ।
दैनिक विद्यालय आवतजावत गर्नुपर्ने भएका कारण पनि विद्यार्थी तथा अभिभावक दुवैलाई यस क्षेत्रका नदी तथा खोलाहरु चिन्ताको विषय बनेको छ। जिल्लामा प्रायः खहरे खोलाहरुको बाहुल्यता रहेकाले पनि यस क्षेत्रका बासिन्दाहरु बढी मारमा पर्ने गरेका छन्।
पाँच वर्षमा ८ जनाको मृत्यु
डडेलधुराको भित्री मधेस क्षेत्रमा पर्ने महाकाली, रंगुन, पुन्तुरा र सादनी खोलाले बगाउँदा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ। २०७१ देखि हालसम्म यी नदी र खोलाहरुले बगाउँदा चार पुरुष र चार महिला गरी ८ जनाले ज्यान गुमाएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।