नेपालगन्ज– अन्नको भन्डारको रुपमा रहेका पश्चिम तराईका जिल्लाहरु बाँके, बर्दिया र दाङमा युरिया मलको अभाब हुँदा त्यहाँका किसानले धान खेतमा मल छर्न पाएका छैनन्।
कृषि सामाग्री कम्पनीले कृषि सहकारीहरुमार्फत रासायनिक मल उपलब्ध गराउँदै आए पनि बाँके, बर्दिया र दाङमा साउनको २५ गतेदेखि युरिया मलको अभाब भएका कारण किसानहरु समस्यामा परेका छन्।
धान रोपेको एक महिना बितिसक्दा पनि किसानहरुले सहज रुपमा रासायनिक मल छर्न पाएका छैनन्। साउनको अन्तिम सातादेखि र भदौको दोस्रो सातासम्म धान बालीका लागि युरिया मल छर्ने समय भएको किसानहरु बताउँछन्।
मल नछरेका कारण धान पँहेलो हुन थालेपछि किसानहरु चिन्तित भएका छन्। समयमा मल छर्न नसक्ने हो भने उत्पादन २५ प्रतिशतसम्म घट्नसक्ने बाँके हिरमुनियका किसान कृपाराम मौर्यले बताए।
कृषि सामाग्री कम्पनीको भैरहवास्थित गोदाममै मल सकिएका कारण देशैभर युरिया मलको अभाब भएको कृषि समाग्री कम्पनी क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख नबल सिंह बोगटीले बताए। बोगटीका अनुसार मल अभाबका कारण गत वर्षको तुलनामा कृषि सामाग्री कम्पनीले यस वर्ष करिब ३ सय मेट्रिक टन कम युरिया मल बिक्री गरेको छ।
धानको उत्पादन वृद्धिका लागि धान रोपेको २० देखि २५ दिनमा झार गोडमेल गरेर युरिया मल छर्नु पर्छ। पहिलो पटक मल छरेपछि त्यसको २० देखि २५ दिनमा पुनः दोस्रो पटक गोडमेल गरेर युरिया मल छर्दा उत्पादन वृद्धि हुने किसानहरु बताउँछन्।
बाँकेमा ३६ हजार ५ सय, बर्दियामा ४४ हजार ५ सय ५० र दाङमा ३८ हजार ५ सय हेक्टरमा धान खेती हुँदै आएको छ। मध्यपश्चिमका १५ जिल्लामध्ये ५ वटा जिल्ला मात्रै खाद्यान्नमा आत्मनिर्भर छन्।
अन्न भन्डारको रुपमा रहेका बाँके, बर्दिया र दाङमा नैै मलको अभाबका कारण धानको उत्पादन घट्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।