रोम– इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिएका छन्।
‘दुःखद घटनामा २२ जना नागरिकको मृत्यु भएको खबर सुनाउनु परेको छ। घटनामा परी केही अन्य मानिसहरू पनि सम्पर्कमा नआएका र केहीलाई सख्त घाइते अवस्थामा अस्पताल लगिएकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने अवस्था छ।’, उप–मन्त्री एडोआर्डो रिक्सीलाई उद्धृत गर्दै इटालीको टेलिभिजन च्यानल स्काई टिजी २४ ले जनाएको छ।
ए १० सडक अन्तर्गतको पुल भत्किएर रेलमार्गमा खसेको र केही व्यक्ति सम्पर्कमा नआएकाले पुलको भग्नावशेषमा परेको आशङ्कामा त्यसलाई हटाउने कार्य स्थानीय नागरिक र सुरक्षाकर्मीले संयुक्त रूपमा गरिरहेको मन्त्री रिक्सीले बताए।
घटनास्थलमा पुगेका एएफपीका फोटो पत्रकारका अनुसार पुल भत्किएसँगै केही कार र ट्रकहरू भग्नावशेषमा फसेका छन् भने पुलबाट सिमेन्टले बनेका पथ्थरका ठूलाठूला टुक्राहरूले नजिकैका घरहरूमा समेत क्षति पुगेको छ।
इटालियाली सञ्चारमाध्यमका अनुसार मोरान्डी पुलको २ सय मिटर भाग भत्किएको छ। पुल ग्रीनविच समय अनुसार मङ्गलबार बिहान १० बजे भत्किएको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।