रसुवा– रसुवाको चर्चित धार्मिक तथा पवित्र तिर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेलाका लागि दररेट निर्धारण गरिएको छ। मेला अवधिभर मूल्यमा एकरुपता ल्याउनका लागि दररेट निर्धारण गरिएको हो ।
गोसाइँकुण्ड क्षेत्र विकास समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र व्यावसायीबीच भएको छलफलबाट मेलाको लागि दररेट निर्धारण गरिएको गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिब डिएमले बताए। उनले भने– विगतका बर्षमा धुन्चे हँुदै गोसाईकुण्ड सम्म जाने तीर्थयात्री ठगीमा पर्ने गरेको गुनासो आउने गरेको हुदाँ मूल्यमा एकरुपता ल्याउनका लागि दररेट निर्धारण गर्ने गरेका छौँ, दररेट निर्धारण गर्दा दूरीका हिसाबले टाढा रहेका स्थानमा बढी र नजिक रहेका स्थानका लागि कम मूल्य कायम गरेका छौँ।’
मिनिगोसाईकुण्ड देखि गोसाईकुण्डसम्म कालो चिया, दुध चिया, दाल, भात, तरकारी, तातोपानी र थर्पु तथा होटलमा बस्नका लागि मूल्यमा थपघट गरिएको गोसाईकुण्ड क्षेत्र बिकास समितिले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष तातोपानी र कालो चियाको मूल्य घटाइएकोे छ भने दुध चियामा पाँच रुपैयाँ मुल्यवृद्धि गरिएको बताइएको छ ।
मिनि गोसाइँकुण्डमा कालो चिया प्रति कप १५ रुपैया, दुध चिया २० रुपैया, दाल भात तरकारी २ सय २० रुपैया कायम गरिएको छ । त्यस्तै थर्पुमा सुत्दा प्रति व्यक्ति २ सय २५, होटलमा सुत्दा प्रतिव्यक्ति ३ सय ५० कायम गरिएको छ ।
त्यस्तै, देउरालीमा कालो चिया २० रुपैया, दुध चिया २५ रुपैया, दाल भात तरकारी २ सय ७५ रुपैया कायम गरिएको छ। थर्पुमा सुत्दा प्रति व्यक्ति ३ सय २५ र होटलमा सुत्दा प्रतिव्यक्ति ४ सय ७५ रुपैया कायम गरिएको छ ।त्यस्तै चन्दनबारीमा कालो चिया २५ रुपैया, दुध चिया ४० रुपैया, दाल भात तरकारी ३ सय ५० रुपैया कायम गरिएको छ । त्यस्तै थर्पुमा सुत्दा प्रतिव्यक्ति ४ सय होटलमा सुत्दा प्रतिव्यक्ति ५ सय रुपैयाँ तिर्नुपर्ने तय गरिएको छ।
लौरीबिना र गोसाइँकुण्डमा कालो चिया ३० रुपैयाँ, दुधचिया ५० रुपैयाँ, दाल भात तरकारी ४ सय ५० रुपैयाँ कायम गरिएको छ भने थर्पुमा सुत्दा प्रतिव्यक्ति ४ सय ५० र होटलमा सुत्दा प्रतिव्यक्ति ६ सय ५० रुपैयाँ तोकिएको छ।
त्यस्तै, तीर्थयात्रीले तातोपानी पिउनका लागि चन्दनबारी र लौरीबिनामा १० तथा गोसाइँकुण्डमा १५ रुपैयाँ तिर्नुपर्ने गोसाईकुण्ड क्षेत्र बिकास समितिले जनाएको छ।
मेला अवधिभर व्यवसाय संचालन गरेबापत व्यवसायिले शुल्क तिर्नुपर्ने छ। घट्टेखोलामा व्यवसाय संचालन गर्नेले ८ सय ५०, देउराली÷ढिम्सामा ९ सय ५०, चन्दनबारी÷चोलाङपाटीमा एक हजार ५०, बुद्धमन्दिरमा १ हजार २ सय ५० र गोसाइँकुण्डमा १ हजार ३ सय ५० रुपैयाँ तिर्नुपर्ने समितिले जनाएको छ ।
गोसाईकुण्ड हिडेर जान नसक्ने तिर्थयात्रुहरुका लागि घट्टेखोलादेखि गोसाईकुण्डसम्म घोडाको व्यवस्था गरिएको छ। घट्टेखोलादेखि चन्दनबारीसम्म घोडा चढे बापत ३ हजार २ सय ५०, घटेटेखोलादेखि बुद्धमन्दिरसम्म घोडा चढे बापत ५ हजार ५ सय, घट्टेखोलादेखि गोसाइँकुण्डसम्म घोडा चढे बापत ६ हजार ५ सय शुल्क तोकिएको छ।
त्यस्तै, देउरालीदेखि बुद्ध मन्दिरसम्म घोडा चढे बापत ५ हजार, देउरालीदेखि गोसाइँकुण्डसम्म घोडा चढे बापत ६ हजार, चन्दनबारीदेखि बुद्ध मन्दिरसम्म घोडा चढे बापत ४ हजार ५ सय, चन्दनबारीदेखि गोसाइँकुण्डसम्म घोडा चढे बापत ५ हजार, चोलाङपाटीदेखि बुद्ध मन्दिरसम्म ३ हजार ५ सय, चोलाङपाटीदेखि गोसाइँकुण्डसम्म ५ हजार र देउरालीदेखि चोलाङपाटीसम्म घोडा चढे बापत २ हजार ७ सय ५० रुपैयाँ कायम गरिएको गोसाईकुण्ड क्षेत्र बिकास समितिले जनाएको छ।
जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाईकुण्ड मेलामा मिनि गोसाईकुण्डदेखि गोसाईकुण्डसम्मको ६ स्थानमा स्वास्थ्य क्याम्प राखिने भएको छ । हिमालय उद्धार संघले गोसाइँकुण्ड, सक्षम नेपाल र नेपाल रेडक्रस सोसाइटीले बुद्ध मन्दिर, लौरीबिनामा पाटन स्वास्थ्य विज्ञान, मिनि गोसाइँकुण्डमा जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको कालिजंग गणले चन्दनबारी र चोलाङपाटीमा स्वास्थ्य क्याम राख्नेछन्।
त्यस्तै,तीर्थयात्रीलाई यात्रामा सहजीकरण गर्नका लागि विभिन्न संघसंस्थाले स्वंयमसेवक परिचालन गरिने बताइएको छ । जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यो वर्ष साउन ३१ गतेदेखि भदौ १० गतेसम्म सञ्चालन हुनेछ। गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटलले खाना तथा बासका लागि सम्पूर्ण तयारी गरिसकेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।