काठमाडौं– इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदअन्तर्गत सुटिङमा सहभागी हुने ६ सदस्यीय नेपाली टोली बुधबार पालेम्वाङ प्रस्थान गर्ने भएको छ। अगष्ट १९ र २० तारिखमा पालेम्वाङमा हुने सुटिङमा एक पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
पुरुषमा सुशे चौधरी तथा महिलामा सुस्मिता नेपाल र कल्पना परियार छन्। खेलाडीत्रयले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन्। एसियाडमा एमक्युएस (मिनिमम क्वालिफिकेसन स्कोर) अन्तर्गत ६ सय पूर्णाङ्मा ५ सय ७० अंक प्राप्त गरे ओलम्पिकमा सहभागी हुन ‘वाइल्ड कार्ड’ का लागि अप्लाई गर्न सकिने नेपाल सुटिङ संघले जनाएको छ।
प्रशिक्षकमा सकुन्तला श्रेष्ठ, व्यवस्थापकमा ध्रुवबहादुर रायमाझी र जुरीमा सुटिङ मुख्य प्रशिक्षक प्रदीप खाती रहेका छन् । १९८२ को दिल्ली एसियाडदेखि सुटिङमा नेपालको सहभागिता टुटेको छैन ।
एथलेटिक्स टोलीको बिदाइ
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली एथलेटिक्स टोलीलाई नेपाल एथलेटिक्स संघले मंगलबार बिदाइ गरेको छ।
अगष्ट २५ र २७ तारिखमा हुने एथलेटिक्समा नेपालबाट ४ पुरुष र २ महिला गरी ६ खेलाडी सहभागी हुनेछन् । पुरुषमा यामसाजन सुनार, सोमबहादुर कुमाल, गोपीचन्द्र पार्की र कृष्ण बस्नेत रहेका छन् । महिलामा विश्वरुपा बुढा र सरस्वती भट्टराई छन्।
सोही अवसरमा खेलाडीलाई पोशाक खर्च वापत राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकम पनि खेलाडीलाई प्रदान गरिएको थियो । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले खेलाडीलाई जनही १० हजार नगद हस्तान्तरण गरे। खेलाडीलाई ट्रयाकसुट पनि प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।