काठमाडौं– ना ५ ख ६६५४ नम्बरको मालबहाक कन्टेनर रसुवागढी नाकामा दुई महिनादेखि रोकियो। भन्सार जाँचपास कुरा नमिल्दा कन्टेनर रोकिएको थियो।
गत साउन १५ गते कन्टेनर पास भयो। तेस्रो दिन बट्टारमा कन्टेनरलाई राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लियो। अनुसन्धान गर्दा राज्यलाई करिब करोड घाटा हुने गरी भन्सारमा सेटिङ मिलाई सो ट्रक पास भएको खुल्यो।
बच्चाका कपडा भनेर कन्टेनरमा एडिडासका ब्रान्डेड कपडाहरु ल्याइएको थियो। भन्सार कर्मचारीकै मिलेमतोमा ब्रान्डेड सामानहरु कम मूल्याङकन गरी जाँचपास भएको खुलेको छ।
सो प्रकरणमा राजश्व अनुसन्धान विभागले भन्सारका कर्मचारीमाथि समेत छानबिन अघि बढाएको छ।
नवराज तिमल्सिना र सुमन श्रेष्ठको मितेरी इन्टरनेशनल ट्रेडर्सले भन्सार कर्मचारीसँगको मिलेमतोमा ती सामान आयात गरेको थियो।
विभागका एक अधिकारीका अनुसार २० डलरसम्म पर्ने कपडालाई १ डलर २५ सेन्टको मूल्याङकन गरेर जाँचपास गरिएको खुलेको छ। कन्टेनरमा २२ हजार ९ सय ४२ वटा ब्रान्डेड कपडा थिए। जसको भन्सार दस्तुर करिब एक करोड रुपैयाँ बराबर हुन्छ।
बच्चाका कपडा भनेर न्यून मूल्याङकन गरेर सामान पास गरिएको थियो। भन्सारका अधिकृत पवित्र कुमार खड्का र नासु धीरज कुमार थापाले मिलेमतोमै कम मूल्याङकन गरी सामान छुटाएका हुन्।
‘ब्रान्डेड सामान भएकाले जाँचपासमा लामो समय विवाद भएको थियो,’ रसुवा भन्सारका एक कर्मचारी भन्छन्,‘तर, व्यापारीले घोषणा गरेकै मूल्यमा सामान कसरी पास भयो शंकास्पद छ।’
रसुवा भन्सारका प्रमुख गोपाल कोइराला सो विषयमा आफुहरु पनि आन्तरीक छानबिन रहेको बताउँछन्। कर्मचारीको गल्ती भेटिए कारबाही हुने उनको भनाई छ।
राजश्व अनुसन्धान विभागले चालक पक्राउ गरेको एक साता बित्दा पनि व्यापारी भने सम्पर्कमा गएका छैनन्। राजश्व चुहावट नियन्त्रण ऐनअनुसार कर्मचारीलाई समेत मतियारका रुपमा मुद्दा चलाउन सक्ने भएकाले मिलेमतोमा सामान खुटाउने भन्सारका २ कर्मचारी समेत यस प्रकरणमा तानिने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।