दाङ– घोराहीका लालबहादुर चौधरीको घर पुग्नुपर्छ, उनी अधिक समय काठकर्ममा व्यस्त देखिन्छन्। हातमा छिना र हथौडा त छुट्दै छुट्दैन। काठमा कुँद्ने आकृतिमा मूलतः थारु सँस्कृति तथा त्यसभित्रका विविधता झल्किएका हुन्छन्।
‘हाम्रो कला र संस्कृति देख्दा सबै रमाउँछन्’ आफ्नो आलो कलाकृति देखाउँदै लालबहादुरले भने, ‘यो परम्परागत सिप र शैली हो।’
थारु समाजको संस्कृति र परम्परालाई प्रतिविम्बन गर्ने काष्ठकलाका रुपमा मात्र होइन लालबहादुरले काल्पनिक रुपमा वनाएका मुर्ती पनि उत्तीकै सुन्दर देखिन्छन्। उनको यो एकाग्रताभित्र पेशाप्रतिको गहिरो लगाव त छ नै त्यसभन्दा महत्वपूर्ण कुरा आफ्नो साँस्कृतिक परम्परा हराउन नदिने कर्तव्य पनि छ।
‘संस्कृति वचाउन राज्यले ध्यान दिँदैन, यसमा दुःख लागेको छ’ लालबहादुर चाहन्छन् ‘मैले जानेको यो कला नयाँ पुस्तामा पनि हस्तान्तरण होस्।’
पछिल्लो समय थारु जातीले लगाउने पोशाक, गरगहना तथा अन्य मान्यताहरु लोप हुदै जान थालेका छन्। यही अवस्था रहे अबको केही वर्षमा दाङको आदीवासीको रुपमा रहेका थारुहरुको जातिय अस्तित्व अझै संकटमा पर्नेछ। यही जोगाउन पनि उनले बनाएका अधिकांश मुर्तिहरुमा थारु जातीका संस्कृति, पोशाक र रहनसहन छायाकृत गरिएको हुन्।
दाङको थारु संग्राहलयमा राखिएका अधिकांश कलात्मक काष्ठकला उनैले वनाएका हुन्। तर संग्रालयको उचित संरक्षण तथा संवर्धन हुन नसकेकोमा भने उनको दुखेसो छ। ‘संग्राहलय त जोगाउन नसक्नेले मेरा कलाकृति के जोगाइदेलान्?’ उनले प्रश्नसँगै गुनसो गरे, ‘कसैले ध्यान दिँदैन।’ दाङ जिल्लामा थारु जातिको उत्थानका लागि काम गर्ने दर्जनौं संघसंस्था भएको तर सबै कमाउ धन्दामा लागेको आरोप लालबहादुरको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।