काठमाडौं – सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘गोपी’ मा मुख्य दुई कलाकार परिवर्तन गरिएको छ।
केही दिनअघि अभिनेत्री बर्षा शिवाकोटी वाहिरिएर बर्षा राउतको प्रवेश गराएको थियो। मंगलबार फिल्मबाट मुख्य अभिनेताका रुपमा रहने भनिएका खगेन्द्र लामिछानेका स्थानमा अभिनेता विपिन कार्की रहने घोषणा गरिएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै फिल्मका लेखक सामिप्यराज तिमल्सिनाले भने, ‘यस अघि फिल्ममा अभिनेता खगेन्द्र लामिछाने रहने भनिएता पनि विभिन्न प्राविधिक कारणले गर्दा अव विपिन कार्की युनिटमा आउनु भएको हो।’ गोपीको यहाँसम्मको यात्रामा खगेन्द्रको ठूलो योगदान भएको र उनले फिल्ममा काम नगर्ने भएपछि आपसी समझदारीकै आधारमा विपिनलाई युनिटमा भित्राइएको निर्देशक दीपेन्द्र लामाले बताए।
कार्यक्रममा वोल्दै अभिनेता विपिनले पनि ठूलो जोखिम मोलेर फिल्ममा प्रवेश गर्ने निर्णय गरेको सुनाए। उनले भने‘सोमबार राती अवेर सम्म निर्देशकले उपलब्ध गराएको स्क्रिप्ट पढेरमात्र फिल्ममा काम गर्ने निर्णयमा पुगेको हुँ र फिल्मको स्क्रिप्ट, टिम र पारिश्रमीक सबै हिसावले पनि म सन्तुष्ट भएकाले फिल्ममा प्रवेश गरेको हुँ।’
फिल्ममा अभिनेत्री बर्षा शिवाकाटी र अभिनेता खगेन्द्र लामिछाने वाहिरीएपछि अव भने विपिन कार्की, बर्षा राउतसँगै सुरक्षा पन्त मुख्य भुमिकामा देखिने छन् ।
आरोही केसी निर्माता रहेको गोपीमा श्रीधर पौडेल कार्यकारी निर्माता हुन्। न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरको गीत लेखन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।