काठामाडौं– सरकारले आगामी दुई महिनाभित्र विभिन्न क्षेत्रमा रोजगारी गरिरहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने तयारी गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।
मंगलबार राजधानीमा इन्टरनेसनल ट्रेड यूनियन एसियाले आयोजना गरेको सामाजिक सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्टीमा बोल्दै मन्त्री विष्टले आम नागरिकको प्रत्यक्ष जिवनसँग जोडिएको सामाजिक सुरक्षाका विषयमा धेरै जनता तथा श्रमिकहरु अनविज्ञ भएका कारण यो विषयमा सरकारलाई काम गर्न समस्या भइरहेको बताए।
‘आम नागरिक र श्रमिकलाई जसरी भएपनि सामाजिक सूरक्षाको दायराभित्र ल्याउनुपर्ने दायित्व श्रम मन्त्रालयलाई थपिएको छ।’, मन्त्री विष्टले भने, ‘सामाजिक सुरक्षा सम्बन्धी काम गर्ने विज्ञ तथा संस्था नेपालमा नभएका कारण पनि सरकारलाई काम गर्ने कठिन भइरहेको हो।’
उनले जस्तोसुकै कठिनाइ भएपनि मन्त्रालयले श्रमिकसँगै बिस्तारै आम जनतालाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याएरै छाड्ने दावी गरे। हाल, सामाजिक सुरक्षा नियमावली बनाउने काममा मन्त्रालय जुटिरहेको पनि मन्त्री विष्टले जानकारी दिए।
सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न नसक्दा वैदेशिक रोजगारीमा गएका धेरै नेपाली युवाले कार्यस्थलमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको यूनियन एसियाका सल्लाहकार पी हरिशदेनले बताए।
देश र देशबाहिर रोजगारी गरिरहेका श्रमिकलाई स्वास्थ्य, विमा र सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन नसक्नु सरकारको ठुलो कमजोरी भएको उनको भनाइ छ।
कार्यक्रममा अर्का वक्ता जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सरकारले जसरी भएपनि देश र विदेशमा रोजगारी गरिरहेका श्रमिकलाई सामाजिक सुरक्षा कोष कार्यक्रममा सहभागी गराउनका लागि जोड दिनुपर्ने धारणा राखे।
सामाजिक सुरक्षाअन्तर्गत व्यवसाय, रोजगारी, श्रमिक, खाद्यान्न, स्वास्थ्य, शिक्षालगायत आमनागरिकसँग जोडिएका २१ क्षेत्रको सुरक्षा पर्दछन्। यसका लागि सरकारले सामाजिक सुरक्षा कोषको व्यवस्था गरी विभिन्न सेवा, सुविधा तथा भत्ताको समेत व्यवस्था गर्छ।
नेपालमा ५ प्रतिशत आम नागरिक मात्र सामाजिक सुरक्षाको दायरामा रहेका पाइएको छ। पूर्वी एसियामा ४० प्रतिशतले मात्र सामाजिक सुरक्षा उपभोग गदै आएको यूनियन एसियाले जनाएको छ।
गोष्टीबाट एसियामा समाजिक सुरक्षासम्बन्धी कस्तो अभ्यास भइरहेको छ र आगामी दिनमा कसरी अगाडि बढ्ने भने सुझाब दिने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।