काठमाडौं- एसियाली खेलुकद (एसियाड) मा नेपालको सहभागिता जति ऐतिहासिक छ, नतिजा त्यति नै निराशाजनक छ। नेपालले भारतमा सन् १९५१ मा भएको पहिलो एसियाली खेलकुददेखि नै सहभागिता जनाएको थियो। त्यसयता नेपालले १७ मध्ये १५ पटक सहभागिता जनाइसकेको छ। तर अहिलेसम्म १ स्वर्ण पनि जित्न सकेको छैन। रजत पदक भने १ पटक मात्र हात पारेको छ।
एसियाली खेलकुदमा नेपालको फुटबलतर्फको सहभागिता पनि खराब छ। नेपालले सन् १९८२ को एसियाली खेलकुदमा पहिलोपटक फुटबलमा प्रतिस्पर्धा गरेको थियो। भारतको नयाँ दिल्लीमा भएको प्रतिस्पर्धाले नेपालले समूह चरणका तीनै खेलमा हार बेहोरेको थियो। पहिलो खेलमा कुवेतविरुद्ध गोल गर्दै वाइबी घलेले इतिहास बनाएका थिए। उनले दोस्रो हाफमा गरेको गोल नेपालको लागि पहिलो औपचारिक अन्तर्राष्ट्रिय गोल हो। त्यो गोल गरेपछि नेपालले अहिलेसम्म एसियन गेम्समा गोल गर्न सकेको छैन। ३६ वर्षसम्म नेपालले एसियन गेम्समा दोस्रो गोल मात्र होइन बराबरी समेत खेल्न सकेको छैन। सबै खेल हारेको छ।
पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले अहिले बिरामी छन्। जसका कारण उनले पूराना धेरै कुरा बिर्सिसकेका छन्। तर घलेको स्मृतिमा पहिलो अन्तर्राष्ट्रिय गोलकाे स्मृति भने अहिले पनि ताजै छ। भैँसेपाटीस्थित निवासमा एक वर्षअघि भेट्न जाँदा उनले पहिलो अन्तर्राष्ट्रिय गोलबारे सविस्तार सुनाएका थिए। एसियाली खेलकुदको कुवेत विरुद्धको उक्त पहिलो खेल नेपालले ३-१ ले गुमाएको थियो। दोस्रो खेलमा इराकसँग ३-० गोलले हारेको नेपालले समूह चरणको अन्तिम खेलमा बर्मासँग ३-० ले नै पराजय भाेगेकाे थियो। पछि इराक र कुबेतले त फाइनल यात्रा तय गरेका थिए।
त्यसपछि नेपालले सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियाडमा पनि फुटबलतर्फ प्रतिस्पर्धा गर्यो। तर नेपालले खेलेका चारै खेलमा हार बेहोर्दा १७ गोल खाएर फर्कियो।
१९९० को एसियाडमा फुटबलमा सहभागी नभएको नेपालको १९९४ मा जापानमा भएको एसियाली खेलकुदमा यात्रा सहज भएन। समूह चरणका तीनै खेलमा पराजित भएको नेपालले २० गोल खान पुग्याे। १९९८ मा थाइल्यान्डमा भएको एसियाली खेलकुदमा नेपालको फुटबल टिमको सहभागिता औपचारिकतामै सीमित बन्यो। २ खेलमा ६ गोल खाएर नेपाली टिम घर फर्कियो।
लगातारकाे खराब प्रदर्शनपछि नेपाली फुटबलले ३ वटा एसियाली खेलकुदमा सहभागिता जनाएन। २००२, २००६ र २०१० को एसियाडमा फुटबलमा सहभागी नभएको नेपालले गत संस्करणको इन्चोन एसियाडमा प्रतिस्पर्धा गरेको थियो। तर कोरिया यात्रा पनि नेपालका लागि सुखद पुनरागमन बन्न सकेन। नेपालले ३ खेलमा नै पराजय भोग्यो। नेपाललाई इराकले ४-०, कुवेतले ५-० र जापानले ४-० गोलले पराजित गरेका थिए।
२००२ अघि एसियाली खेलकुदमा राष्ट्रिय टिमले सहभागिता जनाउने गरेका थिए। २००२ पछि भने यू-२३ ले प्रतिस्पर्धा गर्ने गरेका छन्।
नेपाली फुटबलका लागि एसियाली खेलकुदमा गोल गर्नै गाह्रो परिरहेको देखिएको छ। पछिल्लो ३६ वर्षमा नेपाली फुटबलले ५ एसियाडमा भाग लिएको छ। जहाँ १५ खेल खेल्दा कुनै पनि खेलमा नेपालले जित अात्मसाथ गर्न सकेकाे छैन। १५ खेलमा नेपालले ६५ गोल खाइसकेको छ। केवल १ गोल गरेको छ त्यो पनि ३६ वर्षअघि।
इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिक रुपमा उद्घाटन हुने १८औं एसियाली खेलकुदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ। जहाँ नेपालले पनि सहभागिता जनाएको छ। समूह 'डी' मा नेपालसहित जापान, पाकिस्तान र भियतानाम छन्। नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जापानसँग भिड्दैछ। भियतनाम पनि फुटबलमा नेपालभन्दा स्तरिय टिम हो। सुरुवाती २ खेलमा नेपाललाई इतिहास बनाउन कठिन हुनेछ। अन्तिम खेलमा आफ्नै स्तरको टिम पाकिस्तानसँग खेल्दा भने नेपाललाई इतिहास बनाउने अवसर हुनेछ।
एसियाली खेलकुदका लागि नेपाली फुटबल टिम
गोलकिपर– किरणकुमार चेम्जोङ, एलन न्यौपाने र सोजित गुरुङ
डिफेन्डर– अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ
मिडफिल्डर– रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिशेक रिजाल र तेज तामाङ
फरवार्ड– सुनिल बल, भरत खवास, सुमन लामा र विमल घर्तिमगर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।