भैरहवा- भैरहवामा अव्यवस्थित रुपमा सञ्चालित अटो ग्यारेजले गौतम बुद्धको जन्मस्थल लुम्बिनी मार्ग कुरुप बन्दै गएको छ। बुद्ध जन्मस्थलको प्रवेशद्धारको रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाले अव्यवस्थित रुपमा सञ्चालित ग्यारेजलाई व्यवस्थित नगर्दा लुम्बिनी मार्ग कुरुप बन्दै गएको हो।
नगरको बुद्धचोकदेखि विमानस्थल चोकसम्म (लुम्बिनी मार्ग) करिब ७५ वटा र नगरीभर साढे ३ सयभन्दा बढी ग्यारेजहरु अव्यवस्थित रुपमा सञ्चालनमा छन्। यही मार्ग हुँदै स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ पर्यटक लुम्बिनी पुग्ने गर्दछन्। सडकछेउमै अव्यवस्थित रुपमा चलेका ग्यारेजले लुम्बिनी जाने पर्यटकहरुको मानसिकतामा नकारात्मक प्रभाव परिरहेको पर्यटन व्यवसायीहरु बताउँछन्।
सिद्धार्थनगरलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने अवधारणा अन्तर्गत नगरक्षेत्रमा यत्रतत्र छरिएका ग्यारेजलाई एकै स्थानमा ल्याई सञ्चालन गर्न नगरपालिकाले ग्यारेज श्रमिक/व्यवसायीहरुसँग वडा नम्बर ९ गोनहियामा 'अटो भिलेज' स्थापनाका लागि २०७० सालमा सम्झौता गरेको थियो। अटो भिलेजका लागि श्रमिकहरुले आफ्नो निजी जग्गा खरिद गरे सडक, खानेपानी, विद्युत लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले निर्माण गर्ने सम्झौता गरेको छ। तर, ५ वर्ष बितिसक्दा पनि अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको श्रमिकहरुले गुनासो गरेका छन्।
नगर सुन्दर बनाउन एकै स्थानबाट ग्योरज
नगरपालिकाको नीति रहे पनि नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीको स्वार्थका कारण लुम्बिनी मार्गसहित नगर कुरुप बन्दै गएको र अटो भिलेज सञ्चालनमा आउन नसकेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका सचिव दिलबहादुर श्रीषले आरोप लगाए। मेयर अधिकारीका दाइले लुम्बिनी मार्गमा नगरपालिको नीतिविपरीत ‘मिनी’ अटो भिलेज सञ्चालन गरेका कारण नगरपालिकाले सम्झौता गरेको आधिकारिक सिद्धार्थ अटो भिलेज सञ्चालनमा ल्याउन नखोजेको मेयरमाथि आरोप छ।
आर्थिक वर्ष ०७५/०७६ को नीति, कार्यक्रम तथा बजेटमा पनि नगरपालिकाले अटो भिलेज सञ्चालन गर्न वा नगरमा यत्रतत्र रहेका ग्यारेजलाई व्यवस्थित गर्ने विषयमा केही उल्लेख छैन। तर नगरपालिकाले यस वर्षको नीति कार्यक्रम तथा बजेटमा यस विषयमा केही उल्लेख नगरे पनि पुरानै नीति अनुसार काम गर्ने बताएको छ।
सिद्धार्थ अटो भिलेजका लागि प्रस्तावित स्थल
नगरलाई सफा र सुन्दर बनाउने नीति अनुसार नगरपालिकासँग भएको सम्झौता अनुसार बैंकबाट ऋण लिएर सबै श्रमिक/व्यवसायीहरुले जग्गा खरिद गरी भवन समेत बनाइए पनि हाल नगरपालिकाले अटो भिलेज सञ्चालनमा ल्याउनका लागि आनाकानी गरिरहेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह सारु मगरले गुनासो पोखे। उनले ५ सय केभिए क्षमताको विद्युतीय ट्रान्सर्फमरको अभावमा भिलेज सञ्चालनमा आउन नसकेको र नगरपालिकाले ट्रान्सर्फमर जडान गरेलगत्तै सञ्चालन हुने बताए।
नगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका अटो ग्यारेजलाई पुरानो नीतिअनुरुप एकै स्थानबाट सञचालन गर्नुपर्ने वातावरण क्षेत्रसँग जानकार स्थानीय नारायण सापकोटाको जोड छ। उनले लुम्बिनी मार्गमा रहेका ग्यारेजका कारण वातावरणमा गम्भीर असर पुर्याउनुका साथै नगर कुरुप बनेको उल्लेख गरे। यत्रतत्र छरिएका ग्यारेजका कारण नगरपालिकाले लिएको सफा र सुन्दर नगरको नीतिलाई खिल्ली उडाएको उनको भनाइ छ।
लुम्बिनी आउने पर्यटकमा नकारात्मक प्रभाव
भैरहवादेखि लुम्बिनीसम्मको २२ किलोमिटर दुरी पार गर्दा कवाडी सामान, बाटो छेउका अव्यवस्थित व्यवसायले सडक कुरुप बनाएको छ।
यता, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टका महासचिव चन्द्रबहादुर थापाले दैनिक हजारौँ पर्यटक आवतजावत गर्ने लुम्बिनी मार्गमा अव्यवस्थित रुपमा रहेका ग्यारेजले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र पर्यटक दुवैमा नकारात्मक प्रभाव परेको बताए।
संस्कृतिविद् प्रा डा गीतु गिरीले पर्यटकलाई पवित्रभूमि लुम्बिनी छिर्दा प्रदूषित वातावरणको सामना गर्नुपर्ने अवस्था रहेको बताए। यस विषयमा नगरपालिकाको नेतृत्वलाई पटक-पटक सुझाव दिएपनि कार्यान्वयनमा कुनै चासो नदेखाएको उनको गुनासो छ।
सिद्धार्थनगर नगरपालिकाका वातावरण शाखाका फोकल पर्सन इन्जिनियर मधु गौतम भने अव्यवस्थित ग्यारेजलाई अटो भिलेजमा स्थानान्तरण गरिछाड्ने बताउँछन्। अगामी ६ महिनाभित्र सबै ग्यारेजलाई अटो भिलेजमा लगिने बताउँदै उनले ट्रान्सर्फमर जडानका लागि पहल भइरहेको दाबी गरे।
याे पनि पढ्नुस् : भैरहवामा पाँच वर्षमा पनि अटो भिलेज सञ्चालनमा आएन, ऋणको बोझमा व्यवसायी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।