भैरहवा– ३९ जना कर्मचारीको दरबन्दी रहेको नापी कार्यालय रुपन्देहीमा हाल २५ जना मात्रै कर्मचारी कार्यरत छन्।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने यस कार्यलयमा आवश्यक जनशक्ति नहुँदा आम सेवाग्राहीले सानो कामको लागि पनि लामो समय खर्चिनु परेको छ भने कार्यालयले आफ्नो लक्ष्यलाई समेत पछ्याउन सकेको छैन।
अख्तियारले एक वर्षमै नापी कार्यालयका ५ जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेपछि नापी कार्यालय रुपन्देहीमा नयाँ कर्मचारी आउन नचाहेको स्रोत बताउँछ। स्रोतका अनुसार भैरहवा नापी कार्यालयमा आउन नचाहने कर्मचारीहरु बुटवल नापी, परासी नापी, कपिलवस्तु लगायतका नापी कार्यालयमा जानका लागि तछाडमछाड गरिरहने तर भैरहवा आउन मान्दैनन्।
अख्तियारले कर्मचारी पक्राउ गरेपछि भैरहवा नापी कार्यालयमा रहेका कर्मचारीहरु समेत विभिन्न बहाना बनाएर अन्यत्र कार्यालयमा जाने गरेका छन्। जसले कार्यालयको कामकाज प्रभावित भएको छ।
कार्यालयमा सेवा लिन पुगेका रोहिणी गाउँपालिकाका रामकेवल यादवले आफूले जग्गा रेखांकनको लागि राजश्व तिरेपनि लामो समयपछि मात्रै सेवा पाएको गुनासो पोखे। उनले जग्गाको रेखांकनको लागि निवेदन दिएको महिनौपछि मात्र कर्मचारी गएर रेखांकन गरेको बताए। त्यस्तै नक्सा लिनका लागि पनि घन्टौँ कुर्नु पर्ने उनको गुनासो छ।
भैरहवा नापी कार्यालयका प्रमुख जनकबहादुर भट्टराईले कार्यालयमा कर्मचारी अभाव भएको बताउँदै दरबन्दी अनुसार कर्मचारी भए भैरहवा कार्यालयलाई नमुना कार्यालयको रुपमा विकास गरेर देखाउने दावी गरे। उनले कर्मचारी अपुग भएपनि कार्यालयको सेवा प्रभावित हुन नदिएको जिकिर गरे।
उनले कार्यालय प्रमुखदेखि कार्यालय सहायकसम्म गरी ३९ जना कर्मचारीको दरबन्दी रहेको नापी कार्यालयमा सर्वेक्षक, अमिन र नायव सुब्बा गरी १४ जना कर्मचारी विभिन्न कारणले कार्यालयमा हाजिर नभएको जानकारी दिए।
कार्यालय प्रमुख भट्टराईका अनुसार अध्ययन बिदा, तालिम काज, कार्यालय काज, अख्तियारबाट निलम्बन र रिक्त गरी १४ जना कर्मचारी कार्यालयमा हाजिर भएका छैनन्। अध्ययन बिदाका लागि २ जना सर्वेक्षक र १ जना अमिन गरी ३ जना, तालिम काजमा १ जना सर्वेक्षक, कार्यालय काजमा सर्भेक्षक २ जना र १ जना अमिन गरी ३ जना, अख्तियारबाट निलम्बनमा परेका ४ जना र ३ जनाको दरबन्दी रिक्त गरी कुल १४ जना कर्मचारी कार्यालयमा नआउने गरेको उनले बताए।
उनले कर्मचारी अभावका कारण गाँउ ब्लकको पुर्जा वितरणमा ढिलाइ भएको स्विकारे। साथै उनले नक्सा प्रिन्ट, रेखाङ्कन लगायतका कामका लागि निकै समस्या भइरहेको बताए। दरबन्दी अनुसारको कर्मचारी भए नापी कार्यालयमा नक्सा लिन आउने व्यक्तिले १५ मिनेट भित्रमै नक्सा प्रिन्ट गरेर लैजान सक्ने गरी काम अगाडि बढाइएको पनि बताए।
कार्यालयका अनसार विभिन्न कारणले कार्यालयमा अनुपस्थित कर्मचारीको व्यवस्थापनका लागि विभागसँग समन्वय भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।