काठमाडौं– सरकार र प्रहरी नेतृत्वले देशको शान्ति सुरक्षामा धेरै सुधार आएको बताइरहँदा अपराधका घटना ह्वात्तै बढेको प्रहरीको तथ्याङकले देखाएको छ। पछिल्लो वर्ष अपराधका घटनामा २५ प्रतिशत बृद्धि भएको छ।
प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ मा ३९ हजार ३ सय १५ वटा अपराध दर्ता भएका छन्। जून अघिल्लो आर्थिक वर्षमा भन्दा २४.९६ प्रतिशत धेरै हो। अघिल्लो वर्ष ३१ हजार ४ सय ६२ वटा अपराध प्रहरीमा दर्ता भएका थिए।
प्रहरीको तथ्याङकमा देशमा सबै किमिसका अपराधहरु बढेका छन्। ज्यानसम्बधि अपराध अघिल्लो वर्ष ५ हजार ९ सय ४ वटा रहेकोमा पछिल्लो वर्ष ६ हजार ४ सय ५ वटा दर्ता भएका छन्। जसमा ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानसम्बन्धि घटनाहरु पर्दछन्।
संगठित तथा आर्थिक अपराध पनि ३ हजार ५ सय ९६ बाट बढेर ४ हजार ६ सय ५६ पुगेको छ।
चोरीसम्बन्धि मुद्दा एउटा मात्र बढेको छ। अघिल्लो वर्ष एक हजार ६ सय २७ रहेकोमा एक हजार ६ सय २८ पुगेको छ।
महिला तथा बालबालिका सम्बन्धि अपराध २ हजार ४ सय ३९ बाट ३ हजार २ सय ५५ पुगेको छ।
दैनिक २ हत्या, ३ बलात्कार
देशमा दैनिक २ वटा हत्या तथा ३ बलात्कारका घटना हुने गरेका छन्।
गत वर्ष ६ सय २८ जनाको हत्या भएको थियो। अघिल्लो वर्ष यस्तो अपराध ६ सय १६ थियो।
हत्याका घटना सबैभन्दा धेरै २ नम्बर प्रदेशमा भएका छन्। जहाँ एक सय २२ जनाको हत्या भएको छ। उपत्यकामा ५३, प्रदेश १ मा १ सय १०, प्रदेश नम्बर ३ मा ८२, प्रदेश नम्बर ४ मा ५५, प्रदेश नम्बर ५ मा एक सय १३, प्रदेश नम्बर ६ मा ४५ तथा प्रदेश नम्बर ७ मा ४७ जनाको हत्या भएको छ।
बलात्कारका मुद्दा करिब ३० प्रतिशत बढेका छन्। नेपालमा हरेक दिन ३ वटा भन्दा धेरै बलात्कारका घटना हुने गरेको छ। प्रहरी प्रधान कार्यालयको तथ्याङकअनुसार बलात्कारका घटना दिनप्रतिदन बढीरहेको छ।
आर्थिक वर्ष २०७४/७५ मा एक हजार ४ सय ८० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन्। जसले औसतमा दैनिक ३ भन्दा धेरै घटना हुने गरेको देखाउँछ।
अघिल्लो आर्थिक वर्षमा बलात्कारका मुद्दा १ हजार १ सय ३७ वटा दर्ता भएका थिए।
बलात्कारका घटना बढ्नुमा तीन कारण रहेको प्रहरी प्रवक्ता क्षत्रीको विश्लेषण छ। उनका अनुसार पहिलो कारण भनेको जागरुकता आएको छ। बलात्कारका घटना लुकाउनु हुन्न, दोषीलाई कारबाही गराउनुपर्छ भन्ने जागरुकता बढ्दै गएकाले जाहेरी बढेको उनी बताउँछन्।
दोस्रो कारण प्रहरीको सक्रियताको प्रभाव भएको उनको भनाई छ। मिलापत्र गराउन खोज्ने दरबारमार्ग वृत्त र सुनसरीका प्रहरीलाई कारबाही गरिएको उदारण दिदै उनी यस्ता घटनामा प्रहरीले शून्य सहनशीलता लिएको उनी बताउँछन्।
सामाजिक परिवर्तन पनि कारण भएको एसएसपी क्षत्रीको भनाई छ। नयाँ पुस्ताहरुमा इन्टरनेटको सहज पहुँच र नियमनको अभाव हुँदा त्यसको प्रभाव पनि परेको हुनसक्ने उनको भनाई छ ।
सामाजिक अपराध ४० प्रतिशत बढ्यो
सामाजिक अपराध ह्वात्तै बढेको छ। पछिल्लो वर्ष ४० प्रतिशत सामाजिक अपराध बढेको प्रहरीको तथ्याङक छ। अघिल्लो वर्ष १० हजार २ सय ५६ रहेकोमा १४ हजार ४ सय ५० पुगेको छ।
सामाजिक अपराधमा धेरै जसो सार्वजनिक अपराध मुद्दा पर्दछन् । ‘सार्वजनिक अपराध मुद्दा बढ्नु भनेको प्रहरीको सक्रियता बढ्नु हो,’ प्रहरी प्रवक्ता क्षत्री भन्छन्,‘गुन्डादेखि सुरक्षामा असर पुर्याउन खोज्नेहरुविरुद्ध प्रहरी आक्रामक भएकाले यस्ता अपराधको मुद्दा धेरै दर्ता भएका हुन्।’
५ वर्षमा ४३ प्रतिशत अपराध बृद्धि
पछिल्लो ५ वर्षमा अपराधका घटना ४३.९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७०/७१ मा अपराधका घटना २७ हजार ३ सय ८६ थिए। जून संख्या बढेर ३९ हजार नाघेको छ।
प्रहरीमा उजुरी दिने प्रवृत्ती बढेकाले पनि मुद्दा बढेको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्।
प्रहरी प्रवक्ता क्षेत्री केही वर्षयता निरन्तर अपराध बढीरहेकाले तथ्याँकको ग्राफ उकालोमा रहेकाे बताउँछन्। सार्वजनिक अपराध, मानब बेचबिखनसम्बन्धि अपराधका मुद्दा प्रहरीको सक्रियताका कारण पनि दर्ताको रेकर्डमा आउन थालेको दावी उनको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।