काठमाडौं– टेलरीङ पेशामा आबद्ध एक सामान्य महिलाको नाममा फर्म दर्ता गरी अर्ब भन्दा धेरै राजश्व छल्ने व्यापारीविरुद्ध मुद्दा दायर भएको छ।
राजश्व अनुसन्धान कार्यालय, बुटवलले एक अर्ब ७ करोड १० लाख ३८ हजार ५ सय ६८ रुपैयाँ जरिवाना तथा ३ वर्षसम्म कैद सजाय माग गरी शिव इन्टरप्राइजेजका सञ्चालक नवराज प्रसाद उपाध्याय खनाल र उनका छोरा शशांक खनाललाई मुद्दा दायर भएको हो। रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको हो।
उनीहरुको १६ करोड ३५ लाख २० हजार १ सय ६० रुपैयाँ बिगो समेत दाबी गरिएको छ। खनाल बुबा–छोरालाई ३२ करोड ९७ लाख ५९ हजार ४ सय ९६ रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजायको माग गरिएको छ। उनीहरुले टेलरीङ चलाउने कमजोर आर्थिक अवस्था भएकी कमला रसाइलीको नाममा कम्पनी दर्ता गरी नक्कली कागजपत्रका आधारमा कारोबार गर्दै आएका थिए।
राजश्व कार्यालयले रसाइली र कम्पनीका अकाउन्टेन्ट राजकुमार गुप्ताविरुद्ध समेत मुद्दा दायर गरिएको छ। उनीहरुविरुद्ध २० करोड ५७ लाख ५९ हजार ७ सय ८८ रुपैयाँका दरले बिगो दाबी गरिएको छ।
त्यस्तै, अनुसन्धानको क्रममा शंकाकको नाममा अजिमा इन्टरप्राइजे नामक कम्पनी समेत रहेको खुलेको छ। सो कम्पनीमार्फत ५ करोड २८ लाख ४७ हजार १ सय ३७ रुपैयाँ कर छली भएको रावश्व अनुसन्धान क्षेत्रीय कार्यालयले निष्कर्ष निकालेको छ।
खनाल पहिला भन्सार एजेन्ट हुन्। उनले अरबौंको सामान आयात गर्ने तर कर भने छल्ने गरेका थिए। कर छल्नकै लागि अरुको नाममा कम्पनी खोलेर कारोबार गर्दै आएका थिए।
यो राजश्वले दायर गरेको अहिलेसम्मकै ठूलो मुद्दा भएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।
राजश्व चुहावट नियन्त्रण ऐनअनुसार उनीहरुविरुद्ध मुद्दा दायर भएको हो। विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्र्तगत लगिएपछि सो ऐनअनुसार कारबाही सुरु भएको हो।
अर्थ मन्त्रालय अन्र्तगत रहँदा भन्सार ऐनअनुसार राजश्व छल्नेहरुमाथि कारबाही हुन्थ्यो। जसकारण कारबाही प्रभावकारी हुन सकेको थिएन।
विभागले अन्य ठूला फर्महरुमाथि पनि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।