कैलाली– त्यो अप्रिय घटना गत फागुन २४ को थियो। अर्थात् नारी दिवसका दिन। घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि ७ घण्टा निर्घात कुटपिट भयो। गाउँलेले रमिता हेरे। ताली बजाए।
२० वर्षीया राधामाथि 'भोलेबाबा' भनिने रामबहादुर चौधरी र 'पार्वती माता' भनिने किस्मती चौधरीले बोक्सीको आरोप लगाउँदै निर्मम कुटपिट गरेका थिए।
अत्याचारको समाचार डढेलो बन्यो। सामाजिक सञ्जाल र सञ्चार माध्यममा श्रृव्यदृश्य सामग्री छ्याप्छ्याप्ती भयो। घाइते राधालाई उद्दार गरेर उपचारका लागि धनगढी ल्याइयो। केही दिन पुनर्स्थापना केन्द्रमा राखियो। पछि कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिको पहलमा देउकलियामै कार्यक्रम आयोजना गरी राधालाई पुनर्स्थापन गरियो।
अहिले राधा चौधरी र उनको परिवारको हालत के छ त? हामी सोधखोज गर्दै पीडितसम्म पुग्यौं।
‘हामीलाई सबैले ढाँटे, मान्छेले पनि ढाँटे र समाजले पनि ढाँट्यो’, पीडित राधा चौधरीको अनुहारमा विरक्ति देखियो, ‘मान्छेहरु जे बोल्छन् त्यो नगर्ने रहेछन्। यस्तो सम्झिदाँ दुःख लाग्छ।’ साथमा, उनकी आमा फूलकेशरी पनि थिइन्। छोरीले गुनासो सुनाइरहँदा उनका आँखासमेत भरिए।
भएको के रहेछ भने, घटनापछि प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पीडित राधा चौधरीको स्वास्थ्य उपचार तथा शिक्षादिक्षाको सबै जिम्मेवारी प्रदेश सरकारले व्यहोर्ने बताएका रहेछन्। उनले मात्र होइन प्रदेशका मन्त्रीहरु, जसले राधालाई भेटे, सबैले शिक्षाको जिम्मा सरकारको भन्दै साखुल्ले पल्टेका रहेछन्। तर, घटना भएकाे पाँच महिना बितिसकेको छ, पीडित राधाले प्रदेश सरकारबाट कुनै राहत पाएकी छैनन्।
‘अहँ, त्यसपछि हामीलाई कसैले सोधखोज गरेन’, पिँढीको डिलमा राखिएको खटियामा भेटिएकी राधाले सुनाइन्, 'कक्षा ११ को सबै शुल्क हामीले नै दु:खसुख तिर्यौं। अब १२ मा भर्ना हुने हो, के हुन्छ थाहा छैन।’
राधा पढ्ने घोडाघोडी नगरपालिकाको सुख्खडस्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीलाई पनि सम्पर्क गर्यौँ हामीले। उनले भने, ‘प्रदेश सरकारबाट हालसम्म राधालाई निःशुल्क शिक्षाको व्यवस्था गर्नेबारे कुनै पत्राचार वा सूचना प्राप्त भएको छैन।’ तर विद्यालय व्यवस्थापन समितिले भने सहयोग गर्ने निर्णय गरेको दाबी उनले गरे।
शिक्षामा बेइमानी भइहाल्यो। त्योभन्दा बढी अप्रिय पक्ष त समाजसँग रहेछ।
कुराकानी गर्दैजाँदा राधाका आमा–छोरीले हामीसँग गुनासो गरे, समाजले अझै पनि उनीहरुलाई हेयको दृष्टिले हेर्न छोडेको छैन। छरछिमेकमा अझै पनि राधालाई ‘बोक्सी’ मान्नेहरु छन्। गाली गर्नेहरु छन्। छी:छी र दूरदूर गर्नेहरु छन्।
‘विद्यालयमा पनि केही साथीहरुले बोल्न छोडेका छन्” राधाले भनिन्, ‘बोल्न आउनेसँग म बोल्छु, तर बोल्नै नचाहनेसँग म आफैं कसरी बोल्न जाउँ?’ उनी आफूलाई अझैं पनि गाउँमा बस्न सहज नभएको बताउँछिन्।
‘विद्यालयमा पनि केही साथीहरुले बोल्न छोडेका छन्” राधाले भनिन्, ‘बोल्न आउनेसँग म बोल्छु, तर बोल्नै नचाहनेसँग म आफैं कसरी बोल्न जाउँ?’
राधाकी आमा फूलकेशरीले पनि छोरी (राधा)का लागि गाउँमा पहिलेजस्तो सहज वातावरण नरहेको बताइन्। उनले छोरीलाई गाउँसमाजका केही मानिसले यस्तो भन्यो, उस्तो भन्यो भनेर सुन्दा दुःख लाग्ने गरेको बताइन्। ‘कसैले केही भन्यो भने पनि चुपचाप बस्नुपर्छ, सुने पनि नसुनेझैं गर्नुपरेको छ’, उनले दुखेसो पोखिन्।
राधाको परिवारमा आमा, बुवा, दाइ, एक भाइ र एक बहिनी छन्। कमजोर आर्थिक अवस्थाका कारण अहिले राधाका बुवा, दाइ–भाइ भारतमा काम गर्न गएका छन्। अहिले राधासहित आमा र बहिनी मात्रै घरमा बस्छन्।
राधाको कुटपिटमा संलग्न भएका सोही ठाउँका रामबहादुर चौधरी र किस्मती चौधरी अहिले जेल जीवन बिताइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।