काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले सरकारले सार्वजनिक गरेको पाँच महिने उपलब्धिलाई औचित्यहीन भएको बताएका छन्।
सरकारले सोमबार प्रकाशित गरेको ७४ पृष्ठ लामो उपलब्धि बारे नेपाल लाइभलाई प्रतिक्रिया दिँदै महतले सरकारको उपलब्धि जनताले भन्नुपर्ने बताए।
सरकारले साता तथा महिना महिनामा उपलब्धि भन्दै आएको उनले बताए। सर्वसाधारणले वर्तमान सरकारबाट कुनै राहतको महसुस गर्न नपाएको उनको तर्क छ।
‘उपलब्धि मात्रै सार्वजनिक गरिएको छ, त्यसले दिएको परिणामले जनताको जीवनमा कति परिर्वतन भयो वा सुविधा पाए’,उनले प्रश्न गरे।
हट्दै नहटेको सिण्डिकेटलाई सरकारले उपलब्धि भन्नु आश्चर्यजनक भएको उनले बताए। सडकका धुलो, खाल्डाखुल्डी झन् बढेको र सडकका कारण आएका पर्यटक त्रसित हुनुपर्ने अवस्था रहेको उनले बताए।
फोहोरको व्यवस्थापन सरकारले गर्न नसकेको भन्दै डा महतले सरकारको आलोचना गरे। उपलब्धी भएको हो भने जनता र आउने विदेशीले अनुभव गर्ने थिए। उनले भने– ‘सरकारले निर्णय गरेर मात्रै पर्याप्त हुँदैन। कार्यान्वयन भएकै छैन।’
डा महतले विभाग र मन्त्रालयले केही काम गरे पनि सरकारकै उपलब्धि भन्दै प्रचार गर्ने सरकारको शैली भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।