काठमाडौं – बाल गायिका रुपा रौतारको एकल एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक पत्रकार सम्मेलनमार्फत उक्त एल्बम सार्वजनिक गरिएको हो।
वरिष्ठ कलाकार हरिवंश आचार्यसहित संगीतकार सुरेश सेन्चुरी, राजु सिंह, समाजसेवी विकाश घिरैयालगायतको उपस्थितीमा एल्बमको एकसाथ विमोचन भएको हो। बाल्यकालमै करेन्ट लागेर आफ्ना दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन्।
संगीतकार सुरेश सेन्चुरीको एकल संगीत रहेको एल्बममा सरला गह, तेज प्रसाद पाण्डे, रोजिना थापा, डा कृष्णहरि बराल, दिनेश खड्कासँगै संगीतकार सेन्चुरीको शब्द रचना रहेको छ।
एल्बम विमोचन कार्यक्रममा गायिका रुपाले प्रत्यक्ष रुपमा ‘मेरी आमा’ बोलको गीत गाएर सुनाएकी थिइन् भने एल्बममा समावेस दुई गीतको म्युजिक भिडियो पनि एकसाथ प्रदर्शन गरिएको थियो।
कार्यक्रममा रुपाको प्रत्यक्ष गायन र एल्बममा संग्रहित गीतहरुबाट प्रभावित भई कलाकार हरिवंश आचार्य भावुक बनेका थिए। ‘रुपा बहिनीको स्वरले मन छुन्छ। उहाँको बारेमा बुझेर यहाँ गीत सुन्दा र हेर्दा झनै भावुक बन्न पुगेँ।,' अाचार्यले भने, 'गीतमा लेखिएका शब्द र रुपाको स्वरले उहाँको जीवन बोलेको छ। रुपाको हात त छैनन् तर त्यसको अभावलाई गलाले पूर्ण गरिदिए जस्तो लाग्छ। रुपा बहिनीको प्रतिभा आज हामीले देख्यौं, सुन्यौं, यसलाई छिट्टै नै विश्वले पनि बुझ्न सकोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।