पोखरा- थुम्सीकोट र घुम्लेबजार जोड्ने गरी मादी नदीमाथिको पुल निर्माण सुरु भएको ६ वर्ष हुँदा पनि निर्माण सम्पन्न भएको छैन। २ वर्षभित्र सकिने सम्झौता भए पनि हालसम्म ७० प्रतिशत मात्र काम सकिएको छ।
२०६९ साउन २९ गतेबाट निर्माण कार्य थालिएको थियो। २०७१ पुस महिनामै सक्ने सम्झौता भए पनि विविध कारण समयावधि लम्बिएको पुल उपभोक्ता सिमितिका अध्यक्ष बद्री पौडेलले बताए। पुल बने पोखरा, दमौली र लमजुङसम्म जान आउनसजिलो हुनेछ। उनले भने, ‘पुल छिटो निर्माण भए मादीको मात्रै यातायात खुल्दैन। यो बाटोले दमौली जोड्ने भएकाले उसै पनि फाइदा लिन्छ। लमजुङका धेरै गाउँ पनि लाभान्वित हुन्छन्, त्यसमा पनि सिङ्दी, पसगाउँलाई धेरै फाइदा पुग्छ।’
पुल बनाउन शंकरमाली र लोकप्रिय कन्स्ट्रक्सनले जिम्मा लिएका थिए। ‘उनीहरुले आफूले नगरेर अर्को एक जनालाई ठेक्का दिएका थिए, पछि त्यो पनि काम अलपत्र गरेर भाग्यो अनि काम उस्तै रह्यो,’ पौडेलले भने।
शंकरमाली र लोकप्रिय कन्स्ट्रक्सनले ४ करोड ५१ लाख रुपैयाँ निर्माण सम्झौता गरेका थिए। ती कम्पनीले पनि अरुलाई ठेक्का दिए। तर तिनीहरुले बेलामा काम नसकेपछि पुल अहिलेसम्म बन्न नसकेको हो।
कन्स्ट्रक्सन र शंकरमालीले कामको ठेक्का दिएको पहिलो ठेकेदार बीचमै काम छाडेर भागेपछि उनीहरुले फेरि कृष्ण विकलाई जिम्मा दिएका थिए। विकले पनि कामलाई पूरा गर्न सकेनन् र भागे। गाउँलेको मादी माथि मोटर कुदाएर ओहोरदोहोर गर्ने सपना टुट्यो। फेरि त्यो अलपत्र कामको जिम्मा लिए, खैरेनीका ठेकेदार धीरेन्द्र रानामगर र बुद्धि रानामगरले।
रानामगरको समूह सुरुमा पुलको जिम्मा लिँदा पुलको काम आधा पनि सकिएको थिएन। पुल निर्माणको काम सुरु गर्दा पिलरमात्रै जमिन तहसम्म ल्याइएको ठेकेदार धीरेन्द्र रानामगरले जानकारी दिए। ‘पुलको पिलर जमिन तहसम्म मात्रै उठाइएको थियो। बाँकी काम सबैपछि मात्रै गरेका हौं,’ उनले भने, ‘२ वर्षको अन्तरालमा सक्ने काम गरेका छौं, हाल बर्खा लागेर मात्रै काम रोकिएको हो।’
नालाको ठेक्काबाट पुलसम्मको यात्रा
सुरुमा राना २ जना ससाना नाला बनाउन ठेक्का लिन्थे। नाला बनाउँदै गर्दा एकदिन उनीहरुको भेट भयो हेमराज गुभाजु र सुनील कार्कीसँग। उनीहरुले राना समूहलाई नालाको काम समेत दिलाएका थिए। यो कुरा हो २ वर्षअघिको।
कार्की र गुभाजुले नै प्रस्ताव गरे पुल निर्माणको ठेक्का लिन। उनीहरुले नमान्ने कुरा थिएन। राना समूहले २०७२ पुस १५ गते सम्झौतापत्रमा सहीछाप गरे। तर पछि काम हुँदाहुँदै गुभाजु र कार्की सम्पर्कविहीन बने।
बीचमा एकपटक सम्पर्कमा आए शंकरमालीका हेमराज गुभाजु। उनले राना समूहलाई आश्वासन दिएका थिए, ‘अहिले फुर्सद छैन, पछि सल्लाह गरौंला।’ तर, त्यसपछि उनीहरुले कहिले फोन नउठाउने त उठाए पनि विभिन्न बहाना गर्ने गरेको ठेकदार मगरले गुनासो गरे। ‘काम हुँदाहुँदा सम्पर्कमा आउन चाहेनन्, अहिले त कुन समयमा कामको सुरु गरेछौं भनेर पछुतो लागेको छ,’ उनी भन्छन्।
राना समूहले पुलको निर्माणकै लागि आफ्नो जमिन पनि बेचेको दाबी गरेका छन्। ‘म्याद थप गरेर काम गरेका छौं, योबारे हामीलाई त्यति थाहा छैन। जिम्मा दिने मान्छे फरार छन्,’ उनी भन्छन्, ‘सबै काम पैसाकै हुन्छ हामी नै काठमाडौं पुग्नुपर्छ, खर्च धान्न नसकेर खेतै बेच्नुपर्यो।’
पटकपटक गरेर सडक विभागले ५० लाख रोकिदिँदा काममा ढिलाइ भएको राना बताउँछन्। ‘पहिलोचोटि २० र दोस्रोचोटि ३० लाख होल्ड गर्यो त्यसले गर्दा पनि हामी काममा ढिलाइ गर्न पुग्यौं,’ उनी भन्छन्।
कहिले जिम्मा लिएका व्यक्ति त कहिले ठेकेदारबाट ठगिएको पुलले पछिल्लो २ वर्षमा भने केही अनुहार फेरेको बताउँछन् मादी–९ का मीनबहादुर गुरुङ। ‘पहिलेका सबै ठेकेदार काम गर्दागर्दै भागे, अहिलेका ठेकदारले दुखै गरेर भए पनि काम गरिरहेका छन्,’ उनी भन्छन्।
पछिल्लो २ वर्षमै पुल निर्माण कार्यले ७० प्रतिशतभन्दा बढी गति लिइसकेको छ। ३ स्ट्यान्ड भएको मोटरेबल पुलमा अब एउटामात्रै स्ट्यान्ड बनाउन बाँकी छ। त्यो कामसमेत बर्खा मौसम सकिए लगत्तै गर्ने ठेकेदार धीरेन्द्र रानामगर सुनाउँछन्। ‘अझै एउटा पिल्लरमा प्लास्टर गर्न बाँकी छ, पैसा सहज भएको भए काम उहिल्यै सकिन्थ्यो,’ उनी भन्छन्।
सोधखोजका लागि सम्पर्क गर्न खोज्दाशंकरमालीका हेमराज गुभाजु र लोकप्रिय कन्स्ट्रक्सनका सुनील कार्कीको दुवैको सम्पर्क नम्बर अफ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।