काठमाडौैं–नेपालबाट सरकारीस्तरमा दोहोरो श्रम सम्झौता गरेर श्रमिक आपूर्ति गर्न मलेसिया सरकार तयार रहेको मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले बताएका छन्।
नेपालबाट कामदार आपूर्तिमा देखिएको समस्या समाधानको उपाय सरकारसँग समझदारीका लागि मन्त्री कुलासेगरन अगामी साता नेपाल आउने भएका छन्। सरकारीस्तरमा कामदार आपूर्तिका विषयमा छलफल र सम्झौता गर्न नेपाल भ्रमण गर्ने लागेको मलेसियाको एक कार्यक्रममा उनले पत्रकारहरुलाई बताएका हुन्।
नेपाल सरकारसँग समझदारी गर्न र पछिल्लो समय उत्पन्न समस्याका विषयमा छलफल गर्ने आफू नेपाल भ्रमण गर्ने लागेको कुलासेगरनले पत्रकार सम्मेलनमा बताए।
नेपाल भ्रमण गर्ने विषयलाई मन्त्रीपरिषदमा प्रस्ताव गरिएको र नेपालसँग श्रमिक आपूर्तिमा देखिएको समस्याको दिर्घकालिन समाधान खोजिने उनको भनाई थियो।
नेपालबाट रोजगारीका लागि मलेसिया जाने कामदारमाथि सिण्डिकेट लगाएर आर्थिक भार थप्दै आएका विभिन्न संस्था खारेजका विषयमा मलेसिया सरकारले बुधबार बस्ने मन्त्रिपरिषदको बैठकबाट निर्णय गर्ने मन्त्री कुलासेगरनल बताएका छन्।
मलेसिया र नेपाल सरकारबिच कामदार आपूर्तिका विषयमा हालसम्म कुनै सम्झौता भएको छैन। सम्झौताविनै नै नेपालीहरु मलेसियामा रोजगारीका लागि गइरहेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ ३ गते स्वास्थ्य परिक्षणका नाममा सिण्डिकेट लगाउदै आएका संस्था बन्द गर्ने निर्णयपछि मलेसिया जाने कामदारको प्रक्रिया नै रोकिएको छ।
मलेसियाले विदेशी कामदार आपुर्तीलाई व्यवस्थित गर्न नयाँ नीति ल्याउन लागेको छ। विदेशी कामदार भित्राउने विषयमा मंगलबार प्रधानमन्त्री कार्यालयमा छलफल गरेर नयाँ नीति सावजानिक गर्ने लागिएको हो। यो विषयमा मलेसिया सरकारले कामदार आपूर्ति गदै आएका देशका कुटनीतिक नियोगसँग छलफल गरेको थियो।
हाल मलेसियाले १६ देशबाट कामदार लिने गरेको छ। मलेसिया सरकारले बंगलादेश र नेपाल बाहेकका अन्य देशसँग कामदार आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा सम्झौता गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।