काठमाडौं– आन्तरिक श्रम बजारमा रोजगारदाता कम्पनीलाई श्रमिक आपूर्ति गदै आएका विभिन्न संस्थालाई सरकारले लाइसेन्स र धरौटीको दायरामा ल्याउने तयारी गरिरहेको छ।
अब भने यस्ता आपूर्ति संस्थाले लाइसेन्स लिनुपर्ने भएको छ। संस्था चलाउनका लागि धरौटी अनिवार्य राख्नुपर्ने नयाँ व्यवस्था ल्याउन लागिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारी दिएको छ।
श्रमिक आपूर्ति संस्था चलाउने कम्तिमा ५ देखि ७ लाख धरौटी राखी लाइसेन्स लिनुपर्ने नयाँ व्यवस्था ल्याउन लागिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका एक उच्च अधिकारीले बताएका छन्।
श्रमिक आपूर्तिकर्ता व्यवसायीहरुलाई सरकारले लाइसेन्स र धरौटीको दायरा ल्याएर उनीहरुलाई जिम्मेवार बनाउनुपर्ने देखिएकाले नयाँ व्यवस्था ल्याउने तयारी भइरहेको ती अधिकारीको भनाइ छ।
आन्तरिक श्रम बजारमा कामदार आपूर्ति गदै आएका संस्थालाई नियमन गर्ने निकाय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग हो। यो विभागले आन्तरिक श्रम बजारमा काम गर्ने संस्था र श्रमिकप्रति जिम्मेवार भएर काम गर्न सकेको छैन।
देशभर छरिएरका श्रमिक आपूर्तिकर्ता संस्थाले अहिलेसम्म उद्योगमा संस्था दर्ता गरेर काम गदै आएका थिए। अब भने श्रम विभागका शाखा कार्यालयमा संस्था दर्ता गरेरमात्र कामदार आपूर्ति गर्ने पाउने छन्।
चोक–चोकमा खोलिएका कामदार आपूर्तिकर्ता संस्थाले बेरोजगार युवालाई रोजगारी लगाइदिने प्रलोभन र बाहनामा ठग्ने गरेको विभागको बुझाइ छ।
यसरी भइरहेका ठगी तथा विकृति रोक्न पनि लाइसेन्स र धरौटी आवश्यक रहेको विभागको ठम्याइ छ।
हाल देशभर एक हजारभन्दा बढी उद्योगमा दर्ता भएर सञ्चालनमा आएका रोजगार आपूर्ति संस्था रहेको विभागको अनुमान छ।
देशका मुख्य शहरमा बेरोजगार वर्गलाई लक्षित गदै धेरै यस्ता संस्था सञ्चालनमा आए पनि सरकारले नियमन गर्न नसक्दा रोजगारी पाउने आशमा धेरै बेरोजगार ठगिइरहेका छन्।
श्रमिक आपूर्ति गरेबापत रोजगारदाता कम्पनी र रोजगार लगाई दिएबापत श्रमिकबाट रकम लिएर श्रमिक आपूर्तिकर्ता संस्था दोहोरो फाइदामा रहेका छन्।
श्रमिक आपूर्तिकर्ता संस्थालाई सरकारले नियमन र अनुसन्धान गर्ने नसक्दा आन्तरिक श्रम बजारमा रोजगारीको खोजीमा रहेका बेरोजगार युवा आर्थिक शोषणमा पर्ने गरेका छन्।
यसरी आर्थिक शोषण परेका युवा उजुरी लिएर प्रहरीसम्म पुग्दैन। सानो रकम ठगिएका कारण पनि यो समस्या सम्बन्धित निकायसम्म नपुग्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।