काठमाडौं– पानी जमेका खाल्डाखुल्डी। हिलोको समस्या उस्तै। ढिलपिल ढिलपिल गुडिरहेका सवारी साधन। यी दृश्य काठमाडौं उपत्यका बाहिरको कुनै कच्ची सडकको होइन।
यी दृश्य राजधानी काठमाडौंकै व्यस्त सडकखण्ड चाबहिल–बौद्ध–जोरपाटीको हो। वर्षात्को समयमा यो व्यस्त सडकखण्ड झट्ट हेर्दा खहरे झैँ लाग्छ।
सडकको दुरावस्था त छँदैछ। झन् त्यसमाथि असरल्ल छरिएका तार, भत्काइएका फुटपाथ र अव्यवस्थित रुपमा राखिएका निर्माण समाग्रीले पैदलयात्रीदेखि सवारी चालकलाई उस्तै सास्ती दिइरहेको छ।
स्थानीयका अनुसार पैदलयात्रीले हिँड्ने ठाँउ नहुँदा कतिपय त खाल्डामा लडेका छन् भने कति अल्झिएका छन्।
विश्वसम्पदा सूचिमा रहेको बौद्धनाथ स्तुपा पुग्ने पर्यटकसमेत सडकको कुरुप दृश्य देखेर नाक खुम्चाइरहेका छन्।
ट्राफिक प्रहरीका अनुसार यहाँ सडकमा दैनिक साना ठूला सवारी दुर्घटना पनि भइरहेका छन्।
सडकको यो दुरावस्था भएको निकै लामो समय भइसकेको छ। सडक निर्माणको काममा न सरकारले चासो दिएको छ न त अन्य नियामक निकाय र ठेकेदार कम्पनीले नै। सडकको मापदण्ड अनुसार भत्काउनु पर्ने संरचना कतिपय स्थानमा भत्काइएको छैन। कतिपय स्थानमा पोलहरु निकालिएको छैन।
विकास निर्माणका काममा सडक, विधुत, टेलिफोन, ढल तथा खानेपानी जस्ता निकायहरुसँग पनि समन्वय नहुँदा नागरिकले लामो समयदेखि सास्ती मात्र खेप्नु परिरहेको छ।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।