बुखारेस्ट, रोमानिया- रोमानियाको राजधानी बुखारेस्टमा गरिएको विशाल प्रदर्शनमा ४५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ३० प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको रोमानियाली प्रहरीले जनाएको छ।
रोमानियाको राजधानी बुखारेस्टमा भएको प्रदर्शनमा करिब ८० हजार रोमानियालीको सहभागिता रहेको विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भ्रष्टाचार आरोपमा वामपन्थी सरकारको राजीनामा माग गर्दै भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले व्यापक पानीका फोहरा र अश्रुग्यासको प्रयोग गरेको थियो।
आन्दोलनमा तैनाथ करिब ३० प्रहरी घाइते भएका छन्। जसमध्ये ११ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। घटनामा केही सञ्चारकर्मीसमेत घाइते भएका बताइएको छ।
युरोपियन युनियन (इयु) को अध्यक्षतासमेत गरिरहेकी अष्ट्रियाली चान्सलर सेवेस्टियन कुर्जले आन्दोलनमा भएका झडपहरूप्रति चासो व्यक्त गर्दै सञ्चारकर्मीसमेत घाइते हुनेगरी सरकारद्वारा भएको दमनको आलोचना गरेकी छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।