इटहरी- पूर्व–पश्चिम राजमार्गबाट ३८ किलोमिटरको उत्तर-पश्चिम दुरीमा पर्छ उदयपुरको बेलका नगरपालिका। सो नगरपालिकाको रामपुर बजारबाट करिब १० किमि पूर्व–दक्षिणमा अवस्थित टप्पुलाई परिपरि सप्तकोसी नदीले फन्को मारेको छ। जुन श्रीलंका टप्पुको नामले परिचित छ।
यो क्षेत्र देख्दा धेरै उजाड र उराठ देखिए पनि कृषिजन्य उत्पादनको लागि उर्वर मानिन्छ। करिब ३ हजार घरधुरी भएको श्रीलंका टप्पुका बासिन्दाको आयआर्जनको मुख्य स्रोत कृषि नै हो। यातायातको असुविधाको कारण मान्छेले नै बोकेर उत्पादन बजारसम्म पुर्याउनुपर्ने बाध्यता छ।
गाईभैंसीको दूध, सागसब्जी तथा मकै, गहुँ नै यस क्षेत्रको मुख्य बाली हुन्। २०३६ देखि २०४६ सम्मको कोसी कटान पीडितहरू यस क्षेत्रमा बसोबास गर्ने गरेका छन्। पुरानै पेसा अँगालेका उनीहरूको लागि समस्या भने नयाँ भित्रिइरहेका छन्।
बिजुली बत्ती, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकताबाट वञ्चित छ यो गाउँ। प्राथामिक तहसम्म मात्र पढाइ हुने विद्यालय भए पनि उच्च शिक्षाका लागि सप्तकोसीको भँगालो तर्नुपर्ने बाध्यता छ। जुन प्राय: असम्भव देखिन्छ।
उच्च शिक्षाका लागि नजिकैको भागवलपुर वा कोसी तरेर सुनसरीको महेन्द्रनगर जानुपर्ने हुन्छ। भागवलपुर जानका लागि पनि डुंगा चढ्नुपर्ने र त्यसमा दैनिक २० रुपैयाँ खर्च हुने भएकोले धेरै बालबालिका उच्च शिक्षा बाट वञ्चित भइरहेका छन्।
बराह क्षेत्र नगरपालिका वडा नं ६ का स्थानीय श्याम लिम्बु नगरपालिकाभित्र बसे पनि नगरपालिकाको महसुस हुन नसकेको सुनाउँछन्। कोसीवारि र पारि एउटै वडा छ तर पारि बस्नेले सबै सुविधा पाउँछन्, यताका जनता आधारभूत आवश्यकताबाट टाढै छन्। 'कोही बिरामी भएमा स्ट्रेचर र डुंगाको प्रयोग नगरी धरै छैन,’ लिम्बु भन्छन्, 'एम्बुलेन्स त कल्पना पनि गर्न सकिँदैन। सुत्केरी र सिकिस्त बिरामीलाई बचाउन गाह्रै पर्छ।'
पहिला ज्गली जनावरको समस्या भोगेका उनीहरू अहिले घरपालुवा जनावरको आतंकबाट त्रसित छन्। भारतको विहार र नेपालकै सिराहा र सप्तरीबाट गाईभैँसी ल्याएर आरक्षण क्षेत्रमा छाड्ने क्रम बढेपछि स्थानीयलाई समस्या भएको हो। स्थानीय शम्भु चन्द्रवंशीका अनुसार भारतीयले भैँसी ल्याएर छाड्ने र अर्नाको संसर्गबाट पाडापाडी भएपछि भारततिरै लैजाने गरेका छन्।
अर्का स्थानीय अर्जुन चन्द्रवंशी १ लाख जति बेवारिसे गाई र ५० हजारभन्दा बढी भैँसीले गर्दा कृषि जन्य उत्पादनमा समस्या आएको बताउँछन्। बाली लगाएको केही दिनमै बेवारिसे गाइभैंसीले सखाप पारिदिने गरेको उनको भनाइ छ। 'समस्याबारे आरक्षभित्र सम्पर्क गर्दा उल्टै हामीलाई नै अन्तै गएर बस भन्छन्,’ उनले पीडा पोखे, 'पहिला जंगली जनावरको त्रास थियो अहिले घरपालुवा जनावरको डर छ।'
जंगली हात्तीले आक्रमण गर्दा पनि नेपाली सेना र स्थानीय प्रशासनले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ। केही समस्या लिएर आरक्ष कार्यालयमा गयो भने उल्टै घर जलाइदिन्छु भन्दै धम्की दिने गरेको मिस्रीलाल महतो बताउँछन्। उनका अनुसार २०६२ असार १९ तत्कालीन सहरी विकासमन्त्री नारायणबहादुर खड्काले श्रीलंका टप्पुमै पुगेर बस्ती उठाउन नमिल्ने बताएका थिए। तर त्यसपछि भने बारम्बार बस्ती उठाउनका लागि आरक्षका वार्डेनले पत्र काटेर र फोन गरेरै धम्की दिनै गरेको उनको भनाइ छ।
सरकारी मान्छे र 'गैरसरकारी पशु'को त्रासमा टप्पुवासीको दैनिकी चलिरहेको छ। ४० वर्षदेखि सोही स्थानमा बसोबास गर्दै आएका स्थानीयको समस्या स्थानीय सरकाले पनि बुझ्न सकेको छैन।
श्रीलंका टप्पु कोसी वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकाले वृक्षारोपणको लागि बस्ती हटाउन खोजिएको आरक्षणका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीको भनाइ छ। गाईभैंसी स्थानीयले नै पालेको तर आरक्ष क्षेत्रको बेइज्जत गराउन स्थानीयले गलत आरोप लगाएको भन्दै उनले तर्क गरे, 'उनीहरूकै गल्ती धेरै भएकोले ढाकछोप गर्न हामीलाई आरोप लगाउँछन्। हालसम्म हात्तीको आक्रमण लगायत कारणबाट ९ जनाको मृत्यु भएकोले उनीहरूलाई अन्यतिरै सार्नुपर्ने भएको छ।’
बराह क्षेत्र नगरपालिकाकी उपमेयर कमला लिम्बु यस्तो विकराल समस्या पहिला थाहा नभएको र यसलाई कानुनै बनाउएर समाधान गर्ने बताउँछिन्। स्थानीय सरकारले पनि बारम्बार अनुगमन गर्न आउन नसक्ने भएकोले यसलाई कानुनी उपचारबाट नै हल गरिने उनको भनाइ छ।
श्रीलंका टप्पुमा भारतको पश्चिम बंगालबाट आएका चन्द्रवंशीको बाहुल्य छ। २०२८ सालदेखि भारतको विभिन्न स्थानबाट उनीहरू सो स्थानमा आएर बस्न थालेका हुन्। २०४६ सालमा तत्कालीन सरकाले नागरिकता वितरण गरेपछि उनीहरूले नेपाली नागरिकता पाएका थिए।
त्यति मात्र होइन भारतीय मूलका शम्भु चन्द्रवंशी बराह क्षेत्र नगरपालिकाका नगर समिति सदस्य पनि भएका छन्। भारतको विहारबाट २०५६ सालमा आएका रामप्रसाद तिवारी पनि नेकपाका नेता हुन्। उनी पनि नेपाली नागरिक भइसकेका छन्।
उनीहरू जस्तै भारतको विभिन्न स्थानबाट आप्रवासी भएर नेपाल छिर्नेहरू कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बसोबास गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।