पोखरा– आगामी कार्तिक हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि मैदान मर्मत कार्य तीव्र गतिमा भएको भइरहेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आफ्नै पहलमा काम अघि बढाइरहेको छ।
मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि सुरुमा सम्माउने काम गरिएको छ। अहिले पिच बनाउने काम भइरहेको क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए।
पिच निर्माणका लागि भारतबाट क्युरेटर आएका छन्। भारतका क्युरेटर सन्तोस सिहंसहित प्रदीपकुमार रावत, कृष्ण मगर, विष्णु मण्डल र मौसम मण्डल पनि पिच निर्माण कार्यमा दिनरात खटिएको लामाले जानकारी दिए।
मैदानमा ४ वटा पिच निमार्ण गरिनेछ। पिच निर्माणका लागि तनहुँबाट माटो ल्याइएको छ। विभिन्न चरणको निर्माणपछि प्रतियोगिता सुरु हुनुअघि अन्तर्राष्ट्रिय स्तरको पिच बनाउने लामाले बताए। यस्तै पिचमा स्पाइक जुत्ता लगाएर खेल्ने मिल्ने बनाउने पनि लामाको दाबी छ। स्पाइक लगाएर खेल्न मिल्ने खालको पिच काठमाडौं बाहिर पहिलो पटक बन्न लागेको हो।
पिचसँगै मैदानको लेभलिङ गर्ने काम भइरहेको छ। सुरुमा डोजर ल्याएर मैदान सम्माइएको थियो। जसले गर्दा मैदानको चारतर्फ नै ३ मिटर बढेको छ। लेभलिङ सकिएपछि दुबो रोपेर मैदानलाई स्तरीय बनाइनेछ।
अन्तर्राष्ट्रियस्तरको मैदान बनाउनका लागि पेभेलियन पनि बनाइने भएको छ। यस्तै स्कोर बोर्ड र साइड स्क्रिन पनि राखेर मैदानलाई आकर्षक बनाइने लामाले बताए। मैदान निर्माण अन्तिम चरणमा पुगेपछि ४ हजार बढी दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिनेछ।
पिपिएल कात्तिक ९ देखि २० गतेसम्म हुने भएको तय छ। पिपिएल 'फ्रेन्चाइज बेस' मा टी–२० फर्म्याटमा संचालन हुनेछ। प्रतियोगितामा ६ शहरका टिमबीच प्रतिस्पर्धा हुनेछ। खेलाडीको छनोट अक्सनमार्फत गरिनेछ। विदेशी खेलाडी ल्याउने पिपिएलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।