अभ्यास खेलमा नेपाली यू–२३ टिमलाई थाइल्यान्डको युवा टिमले हरायो

Nepal Live

काठमाडौँ– एसियाली खेलकुद र साफ सुजुकी कपको तयारीका लागि थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली शुक्रबार त्यहाँको यू–२३ टोलसँग पराजित भएको छ।

शुक्रबार अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको हो।

नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा शुरु हुने एशिया र त्यसलगत्तै भदौ १९ बाट बङ्गलादेशमा शुरु हुने साफ सुजुकी कपको तयारीका नेपाली फुटबल टोलीलाई थाइल्याण्ड पठाएको थियो। थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट यही साउन २९ देखि हुने एसियाली खेलकुदका लागि इण्डोनेशियामा जानेछ।

यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो । बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो। 

एशियन गेम्सको समूह ‘डी’मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग खेल्नेछ। यस्तै दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूह चरणको अन्तिम खेल खेल्नेछ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार


अन्य समाचार पढ्नुहोस्