एन्फाको स्पष्टीकरण : राजुकाजीलाई प्रशिक्षकबाट हटाएको छैन

Nepal Live

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजुकाजी शाक्यलाई प्रशिक्षकबाट नहटाएको स्पष्ट पारेको छ। एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टिमको जिम्मेवारी हेरफेर गर्दा बुझाइमा फरक परेको दाबी गरेको हो।

एन्फाले यसअघि राष्ट्रिय टिमको सहायक प्रशिक्षकको स्थानमा बालगोपाल महर्जनलाई नियुक्त गरेको थियो। 

'राष्ट्रिय टिमको प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेका हौं, '  एन्फा प्रवक्ता किरण राईले भने, 'राजुकाजी शाक्य अहिले पनि हाम्रा प्रशिक्षक हुनुहुन्छ। उहाँलाई अन्य टिमको जिम्मेवारी दिन सक्ने अवस्था अझै छ।' 

यसअघि शाक्यले आफूलाई प्रशिक्षकबाट हटाएको भन्दै गुनासो गरेका थिए। 'शाक्य र एन्फाबीच केहि कम्युनिकेसन ग्याप भएको देखियो,' प्रवक्ता राईले भने, 'यस विषयमा शाक्य र एन्फाबीच छलफल भएको छ। दुवै पक्षले पछिल्ला घटनाले नेपाली फुटबलको हित नगरेको महसुस गरेका छौं।'

यस्तै रेलिगेशनबिनाको लिगको बारेमा पनि एन्फाले स्पष्टीकरण दिएको छ। ४ वर्ष लिग नहुँदा सबै क्लबहरुको अवस्था बिग्रिएको र नेपाली फुटबलमा माहोल ल्याउनका लागि रेलिगेशनबिनाको लिग गर्न लागिएको राईले स्पष्ट पारे। 'कार्यसमितिको बैठकबाट रेलिगेशनबिनाको लिग गर्ने निर्णय भइसकेको छ। एएफसी र फिफाबाट अनुमोदन पनि गराइसकेका छौं। लिगको मर्म र रोचकता नबिर्गाने गरी लिग गराउनका लागि हामी सचेत छौं, ' राईले भने।

यस्तै एन्फाका अन्तर्राष्ट्रिय सलाल्हकार नवीन पाण्डे फिफा कंग्रेसमा भाग लिएको विषयमा पनि एन्फाले आफ्नो धारणा राखेको छ। 'पाण्डे विदेशी नागरिक नभएर गैरआवासिय नेपाली हुन्। नेपालको संविधानले गैरआवासिय नेपाललाई समाजिक, आर्थिक र सांस्कृतिक आधिकार दिएको छ,' एन्फाको सूचना समितिका सहसंयोजक बद्री भट्टराईले भने, 'गैरआवासिय नेपालीको सिप र क्षमतालाई उच्चतम उपयोग गर्ने राष्ट्रको नीतिअनुसार पाण्डेलाई अन्तर्राष्ट्रिय सल्लाहकारमा नियुक्त गरिएको हो।' यस्तै पाण्डे एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अन्तर्राष्ट्रिय सल्लाहकारणको हैसियतामा फिफा कंग्रेसमा सहभागी भएको उनको भनाई छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार


अन्य समाचार पढ्नुहोस्