काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमले आगामी डिसेम्बरसम्म ३ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन आयोजना गर्दै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबारे जानकारी दिएको हो।
नेपालले आगामी नोभेम्बर १४ मा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ। अफगानिस्तान विरुद्धको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। यस्तै डिसेम्बरमा थाइल्यान्डसँग मैत्रीपूर्ण खेल गराउन तयारी भइरहेको एन्फाले जनाएको छ। थाइल्यान्डसँगको खेलको मिति भने तय भइसकेको छैन। यस्तै म्यानमारले पनि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न इच्छा देखाएको एन्फा प्रवक्ता किरण राईले बताए।
एन्फाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले यो वर्ष उमेर समूहका प्रतियोगितासहित १० वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भाग लिन लागेको जनाएको छ। एन्फाले साफ यू–१५ च्याम्पियनसिप, थाइल्यान्डमा १० दिनको अभ्याससहित २ वटा मैत्रीपूर्ण खेल, एसियन गेम्स, साफ सुजुकी कप, एएफसी यू–१६ च्याम्पियनसिप छनोट, ४६औं एसियन स्कुल यू–१८ च्याम्पियनसिप, साफ यू–१८ महिला च्याम्पियनसिप, साफ यू–१५ पुरुष च्याम्पियनसिप, एएफसी यू–१८ महिला च्याम्पियनसिप र ओलम्पियक २०२० महिला छनोटमा भाग लिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।