काठमाडौं– रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ। राम प्रसाद राई स्मृति प्रतिष्ठानको प्रतिनिधि मण्डलले २००७ सालको जनक्रान्तिका योद्धा राईलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको प्रतिनिधि मण्डलले राष्ट्रिय विभूति घोषणा गर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष बुझाएको छ।
स्मृति प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र रामप्रसाद राई फाउण्डेशनका अध्यक्ष शुष्मा राईले संयुक्त रुपमा बुझाउनु भएको प्रस्तावमा राईलाई राष्ट्रिय विभूति घोषणा गर्न सम्बन्धित निकायमा निर्देशनका लागि प्रधानमन्त्री समक्ष अनुरोध गरिएको छ ।
प्रतिनिधि मण्डलसँगको भेटका अवसरमा प्रधानमन्त्री ओलीले यस विषयलाई आफूले गम्भीरता पूर्वक लिएको र छलफल अघि बढाएर उपयुक्त निर्णय गर्ने बताए। ‘तपाईंहरुले बडो महत्वको विषय उठाउनु भएको छ, रामप्रसाद राई को हुनुहुन्छ मलाई राम्रोसँग जानकारी छ’ प्रधानमन्त्री ओलीले भने ‘यस विषयमा छलफल अघि बढाएर उपयुक्त निर्णय लिइनेछ ।’
राई २००७ सालमा राणा शासनविरुद्ध उत्रिएको मुक्तिसेनाका योद्धा हुन्। दिल्लीमा राजा, कांग्रेस र राणाशासकबीच भएको सम्झौताको उनी विरोधमा लागेका थिए।
डा केआई सिंहसँग तिब्बत जाने क्रममा उनको रहस्यमय मृत्यु भएको थियो। उनका परिवारले राईको राज्यले नै हत्या गरेको आरोप लगाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।