काठमाडौं- सरकारले काठमाडौंसहित देशका मुख्यमुख्य सहरमा खाद्य सुरक्षा अभियान सञ्चालन गर्ने भएको छ।
कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनालले खाद्य वस्तुमा शुद्धता ल्याउन राजधानी काठमाडौंसहित देशका मुख्यमुख्य सहरमा ६ महिना खाद्य सुरक्षा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। उनले खाद्य वस्तुलाई गुणस्तरीय बनाउन कडा कदम चाल्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सचेत गराइएको पनि बताए।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले ३ महिनाभित्र दूधको गुणस्तर कायम गर्ने योजना पनि अघि सारेका छन्। दूधको गुणस्तरमा सुधार आएको उनको दाबी छ।
मन्त्री खनालले दूषित पानी उत्पादन गर्ने सबै उद्योग बन्द गर्ने चेतावनी पनि दिए। सरकारले दूषित पानी उत्पादन गरेको भन्दै २२ वटा पानी उद्योगमा तालाबन्दी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।