वासिङटन- अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्।
विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ। 'अर्को युद्ध मैदानका लागि तयारी गर्नुपर्ने समय आएको छ,' पेन्सले भनेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक सैन्य बल निर्माण गर्न आदेश दिएका थिए। अन्तरिक्षका जोखिमसँग जुध्न र उपग्रहीय कक्षमा अमेरिकी प्रभाव स्थापित गर्न यस्तो सैनिक बल आवश्यक रहेको उनको भनाइ छ।
तर यो सैनिक विभाग गठनमा अमेरिकी कङ्ग्रेसको समेत स्वीकृति आवश्यक पर्दछ। सैन्य बलको लागि आवश्यक स्रोत र प्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसदहरु र प्रतिरक्षा अधिकारीहरुले बताउँदै आएका छन्।
तर उपराष्ट्रपति पेन्स यो अभियानलाई यथार्थमा रुपान्तरण गर्न सकिनेमा विश्वस्त छन्। यो विभाग सन् २०२० सम्ममा गठन भइसक्नेछ। यही वर्ष ट्रम्पको पहिलो कार्यकाल समाप्त हुनेछ।
'हाम्रो सैन्यबलको इतिहासमा नयाँ अध्याय लेख्ने समय आइसकेको छ, हाम्रा नागरिक र हाम्रो मुलुकमा नयाँ पुस्ताका सुरक्षा खतरासँग जुध्न र त्यसलाई परास्त गर्न अहिल्यै तयारी थाल्नुको विकल्प छैन,' पेन्सले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आयोजित समारोहमा भने।
उनले अर्को ५ वर्षका लागि अमेरिकी अन्तरिक्ष सुरक्षा प्रणालीका लागि थप ८ अर्ब अमेरिकी डलर आवश्यक रहेकाले त्यसलाई पारित गर्न कङ्ग्रेस समक्ष राष्ट्रपति ट्रम्पले आग्रह गरिसकेको पनि जानकारी दिए।
पेन्सले रसिया र चीनसँग जुध्नका लागि पनि स्वतन्त्र अन्तरिक्ष सैन्यबल आवश्यक रहेको बताएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।