काठमाडौं- संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको कार्यविधि पारित भएको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सचिवालयबाट प्रस्तावित कार्यविधि परिमार्जनसहित पारित गरेको हो।
सचिवालयद्वारा प्रस्तावित कार्यविधि छलफलमा उठेका प्रश्नहरुको जवाफसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य हरिचरण शिवाकोटीले जानकारी दिए।
कार्यविधिमा पत्रकारहरुलाई बैठकमा जान रोक लगाउनेसम्मको व्यवस्था गरिएको छ। समितिले आवश्यक ठानेका बेला पत्रकारहरुलाई बैठकमा जान रोक लगाउन सक्ने व्यवस्था पनि कार्यविधिमा गरिएको समितिका सदस्य परशुराम मेघी गुरुङले बताए।
कार्यविधिमा बैठक अवधिभर सदस्यहरुलाई मोबाइल फोन चलाउन पनि प्रतिबन्ध लगाइएको छ। त्यसैगरी सभापति वा सचिवालयलाई पूर्व जानकारी नदिई बैठकमा सदस्यहरुले अनुपस्थित हुन नपाउने कडा व्यवस्था गरिएको छ। समितिका ज्येष्ठ सदस्य शिवाकोटीले विशेष कारण परेको अवस्थामा बाहेक सदस्यहरु बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था पनि कार्यविधिमै तय गरिएको जानकारी दिए। बैठकका निर्णय सकेसम्म सर्वसम्मतिमै गर्ने व्यवस्था पनि गरिएको उनले बताए।
समितिले अनुगमन र मूल्यांंकनको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग छलफल गर्ने व्यवस्थालाई पनि अनिवार्य गरेको छ। बैठकमा उपस्थित हुँदा सरकारका मन्त्रीहरुले समितिको माग बमोजिम आवश्यक कागजात तथा विवरण समितिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।
समितिको अर्का बैठक आइतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ। आइतबारको बैठकमा प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुने कार्यसूचि तय गरिएको पनि समितिका सचिव मनोज गिरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।