काठमाडौं– राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा भएको अनियमितता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोली परिचालन गरेको छ।
नहर परीक्षणकै क्रममा भत्किएपछि त्यसको गुणस्तरमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्नेबारे शुक्रबार निर्णय भएको हो। आइतबारसम्म आयोजनास्थलमा टोली अध्ययनका लागि जाने अख्तियार स्रोतले जनाएको छ।
राष्ट्रिय गौरवको आयोजन निर्माणमा चरम लापरबाही भएको भन्दै समाचार प्रकाशन भएको प्रति ध्यानाकर्षण भएकाले विस्तृत अनुसन्धानका लागि आयोगका प्राविधिक सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरिएको अख्तियारले जनाएको छ। उक्त समूहले स्थलगत अध्ययन समेत गर्ने गरी विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए।
आयोजना निर्माणमा हालसम्म भएको कामकारबाहीको विषयमा यसअघि आयोगबाट भइरहेको अनुसन्धान कार्यलाई समेत एकीकृत गरी विस्तृत अनुसन्धानको कार्यलाई तीव्रता दिने कार्य आयोगले अघि बढाएको उनले बताए।
बहुप्रतिक्षीत आयोजनाको मूल नहर सुचारु नहुँदै परीक्षण क्रममा भत्किएको थियो। जिल्लाका विभिन्न सरोकारवाला निकायहरुले आयोजनाको मूल नहरको निरीक्षण गरेर निर्माण छानबिनको माग गर्दै आएका थिए।
बाँकेको महादेवपुरी–५ ढकेरीस्थित झिझरी खोलानजिक आयोजनाको दायाँ मूल नहर गत मंगलबार परीक्षण क्रममा भत्किएको थियो। कचनापुर–१, अगैयास्थित बाँधस्थलदेखि ३५ किलोमिटरसम्मको मूल नहर अन्यत्र पनि ठाउँठाउँ चर्किएको छ।
२०६३ सालबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध र मूल नहरको ३५ किलोमिटर खण्डको काम सम्पन्न हुँदासम्म साढे १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। मूल नहरमा प्रतिसेकेन्ड ५० क्युसेक पानी बग्न सक्ने क्षमता छ। आर्थिक वर्ष २०७३/७४ का लागि आयोजनालाई सरकारले थप एक अर्ब २६ करोड रुपियाँ विनियोजन गरेको थियो। अहिलेसम्म ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको आयोजनाले जनाएको छ।
आयोजनाको सम्पूर्ण काम आव २०७६/७७ सम्म सम्पन्न हुने र लागत खर्च झन्डै २५ अर्ब पुग्ने अनुमान छ। कुल ४५ किमि मूल नहरमध्ये ३५ किमि खण्ड गत वर्ष सम्पन्न भएको थियो। चालू वर्ष बाँकी १० किमिको निर्माणकार्य भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।