नेपालको उर्जा उत्पादनमा सहकार्य गर्न बंगलादेशसँग समझदारी

Nepal Live

काठमाडौं– नेपालको उर्जा उत्पादनका क्षेत्रमा सहकार्य गर्ने गरी बंगलादेशसँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरिएको छ। उर्जामन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका  बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिद बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

मन्त्रालयमा शुक्रबार भएको एक कार्यक्रममा नेपाल र बंगलादेशबीच विद्युत सम्बन्धि सम्झौता गरिएको हो।

हस्ताक्षर कार्यक्रममा बोल्दै उर्जामन्त्री पुनले बंगलादेशसँगको एमओयू महत्वपूर्ण भएको बताए। उनले उर्जाको क्षेत्रमा भएको द्धिपक्षीय सम्झौताले विकासका लागि नयाँ ढोका खुलेको दावी गरे। बंगलादेशी प्रतिनिधिमण्डलसँग निजी क्षेत्रको सहकार्यमा जलविद्युत क्षेत्रमा लगानी गर्ने विषयमा द्धिपक्षीय छलफल भएको पनि उनले बताए। बंगलादेशले उर्जाको क्षेत्रमा गरेको प्रगतिका बारेमा पनि छलफल भएको पुनले जानकारी गराए।

जलविद्युतमा नेपालसँग सहकार्य गर्न पाएकोमा बंगलादेशी मन्त्री नसरुल हमिदले खुसी व्यक्त गरे। ‘लगानीका लागि फ्रेमवर्क तयार गरी नेपालको जलविद्युत क्षेत्रमा  सरकार र निजी क्षेत्रमार्फत सहकार्य गरिनेछ।’, उनले भने। नेपालसँगको एमओयूपश्चात् भारतीय पक्षसँग पनि कुरा हुने उनले जानकारी गराए। हस्ताक्षर कार्यक्रममा बोल्दै उनले स्थिर सरकारले नेपाली जनताको आकांक्षा पुरा गर्ने आशा व्यक्त गरे।

दुई देशबीच सचिवस्तरको संयन्त्र बनाउने बताइएको छ। राज्यमन्त्री हमिदसहितको टोली सझदारीका लागि बिहीबार नेपाल आइपुगेको हो। बंगलादेशमा विद्युतको माग बढ्दै गएको र नेपालमा केही वर्षपछि मागभन्दा धेरै विद्युत उत्पादन हुने भएकाले नेपालले बंगलादेशलाई विद्युत बेच्नेबारे केही वर्षयता छलफल हुँदै आएको छ।

बंगलादेशले भारत तथा भुटानसँग विद्युत खरिद गर्दै आएको छ। नेपालले निर्यात गर्नसके देशको अर्थतन्त्रमा यसले ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। विद्युत बिक्रिका लागि आवश्यक प्रसारण लाइनको निर्माणबारे समेत दुई देशबीच शनिबार छलफल हुनेछ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्