काठमाडौं– फिल्म ‘के म तिम्रो हैन र’ बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री हुन् मरिस्का पोखरेल। त्यसयता उनले आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छिन्। डेव्यु अभिनय रहेको ‘के म तिम्रो हैन र’ मा दर्शक र समिक्षकको साथ पाएपनि त्यसपछि मरिस्काको अभिनय यात्रा त्यती सन्तोषप्रद देखिँदैन।
फिल्म ‘के म तिम्रो हैन र’मा अभिनय गरे लगत्तै फिल्म ‘चपलिहाइट २’ मा अभिनय गरेकी मरिस्का त्यसयता केही समय पर्दाबाट ओझेल परिन्। तर २०७४ देखि भने मरिस्का अभिनित फिल्महरु एकपछि अर्को गर्दै प्रदर्शनमा आइरहेका छन्। फिल्महरु प्रदर्शनमा आउनु फिल्मी करियरका लागि राम्रो कुरा हो। तर, लगातार सुखद प्रतिकृया प्राप्त नहुँदा भने जुनसुकै कलाकारको लागि यो यात्रा थप चुनौतीपूर्ण बन्दै जान्छ।
यसरी फिल्महरु असफल भएका कुरामा मरिस्का भने उति सहमत देखिन्नन्। ‘मेरो करियर जापानको अन्तर्राष्ट्रिय विद्यालयको प्रमुख कला शिक्षिका देखि मोडलिङ हुँदै अभिनय क्षेत्रसम्म आइपुगेको छ। मलाई मेरा शुभेच्छुकहरुले सफल व्यक्तिकै रुपमा लिएको पाउँछु।’, उनी भन्छिन्, ‘फिल्मी करियरका हिसाबमा म केही पछाडी परे हुँला। तर, फिल्म असफल मेरो कारणले मात्र भएका होइनन्।’
उनले असफलताका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आउने समाचारहरु र फिल्म निर्माता निर्देशकहरुप्रति लक्षित गर्दै भनिन्,‘कुनै पनि विषयको आन्तरिक तत्व नबुझि सफल/असफल भनेर विश्लेषण गर्नु गलत हुन्छ। किनकी एउटा फिल्म बनाउन थुप्रै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ र त्यसका लागि सम्पूर्ण युनिटले सक्दो प्रयास पनि गरेकै हुन्छ।’
फिल्मको सफलतासँग निर्देशकको भूमिका पनि महत्वपूर्ण हुने उनको बुझाइ छ। ‘फिल्म त एउटा सवारीसाधन जस्तै हो। यसको ड्राइभरले कसरी ड्राइभिङ गर्दछ भन्ने विषयसँग पनि फिल्म र क्यारेक्टरको सफलता/असफलता जोडिएको हुन्छ।’
मरिस्काले विशेषगरी आफ्नो कमजोरी सुधार गर्नमा भन्दा अरुको कमजोरीमाथि प्रहार गर्न मान्छेहरु उद्धत हुने कारणले पनि कसैको करियरमा असफलता सिर्जना हुने तर्क गरिन्।
पछिल्लो समय मरिस्का अभिनित फिल्महरु ‘लम्फु’ र ‘पण्डित बाजेको लौरी’ प्रदर्शनमा आइसकेका छन् भने यही भाद्र १ बाट ‘मिस्टर भर्जिन’ प्रदर्शनको तयारीमा रहेको छ। फिल्म ‘मिस्टर भर्जिन’मा पनि कथाले मागेको र आफूले सकेजती अभिनय कौशल प्रदर्शन गरेको बताइन्। ‘सायदै मिस्टर भर्जिन नेपालकै पहिलो सेक्स कमेडी मुभी हो। दर्शकले पनि विषयवस्तु हेरेर साथ दिनुहुनेमा विस्वास लिएकी छु।’, उनले भनिन्।
‘मिस्टर भर्जिन’पछि मरिस्का अभिनित २ वटा फिल्महरु प्रदर्शनको तयारीमा छन्। ‘साली कस्को भेनाको’मा मरिस्का मुख्य भूमिकामा छिन् भने ‘शिरफूल’मा भने उनी अतिथि कलाकारका रुपमा देखिने छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।